काठमाडौं - नेपाली कांग्रेसको सभापतिका प्रत्यासी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला र प्रकाशमान सिंहले आज केन्द्रीय सदस्यहरूको भेला बोलाएका थिए ।
तर, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको असन्तुष्टिले सो भेला रोकिएको छ । तीनै नेताले सभापतिका प्रत्यासीबाहेक केन्द्रीय सदस्यहरूसँग आज टोखास्थित शशांक निवासमा भेला बोलाएका थिए ।
कांग्रेस नेता प्रकाशमान सिंहले आज पदाधिकारी बैठक बोलाइएकाले भेला स्थगित भएको जानकारी दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै चाँडै सो भेला आयोजना हुने र भेटघाटको क्रम पनि बढ्ने उनको भनाइ छ ।
नेता सिंहले नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन केन्द्रित रहेर नेताहरुबीचको छलफल र भेटघाटप्रति सबैको चासो रहनु स्वाभाविक रहेको भन्दै निधि, कोइराला र आफूबीचको निरन्तर संवादले आमकांग्रेसजनमा उत्साह र नवीन तरंग उत्पन्न गरेको दाबी पनि गरेका छन् ।
कांग्रेस नेता सिंहले लेखेका छन्–
नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन केन्द्रित रहेर नेताहरुबीचको छलफल र भेटघाटप्रति सबैको चासो रहनु स्वाभाविक नै हो । यसैक्रममा कांग्रेस नेताहरु विमलेन्द्र निधि, डा. शशांक कोइराला र मबीच निरन्तर भइरहेको भेटघाटले आम कांग्रेसजनमा उत्साह र नवीन तरंग उत्पन्न गरेको सबैले महसुस गरिरहेका छन् ।
यो प्रतिकूल राष्ट्रिय परिस्थितिका बेलामा कांग्रेसजन र नागरिकमा यी तीन नेता मिलेर कांग्रेस महाधिवेशनमा नेतृत्व लिने सन्दर्भमा भएको छलफलले सिंगो मुलुककै ध्यानाकर्षण गराएको त छ नै, पछिल्लोपटक चाक्सीबारीमा भएको छलफलले कांग्रेस महाधिवेशन र समग्र मुलुकको समस्याबारे महत्वका साथ विषय उजागर गरेको छ ।
सो बैठकले क्रियाशील सदस्यता सम्बन्धी समस्याको तत्कालै विधि प्रक्रिया भित्र रहेर समाधान खोज्दै महाधिवेशन केन्द्रित हुने र आज असार १८ गते शुक्रबार पार्टीको १३ औं महाधिवेशनका सभापतिको प्रत्यासीबाहेकका नेताहरूसँग छलफल गर्ने समय तय गरेको थियो ।
तर, क्रियाशीलको विषय नटुंगिएको र आज नै क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्नु पर्ने भएकाले आजका लागि हामी तीनजनाले तय गरेको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल कार्यव्यस्तताका कारण स्थगित भएको जानकारी गराउँदछु ।
निर्धारित मितिभित्र महाधिवेशन सम्पन गराउनुको विकल्प नभएकाले महाधिवेशनको वातावरण बनाउँदै आवश्यकताअनुसार भेटघाट र छलफलका क्रमहरुलाई निरन्तरता दिंदै जानेसमेत सबैमा जानकारी गराउँदछु । यहाँहरूको उत्साहजनक सल्लाह र प्रतिक्रियाका लागि आभार व्यक्त गर्दछु ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।