काठमाडौँ- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले दशैँ भत्ता फिर्ता गर्ने बताएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै सिंहले दशैँ भत्ता फिर्ता गर्ने जानकारी दिएका छन् ।
कोरोना भाइरसको महामारी बेला जनता उपचार गर्न नसक्ने अवस्थामा रहँदा सांसदहरुलाई दशैं भत्ता दिने सरकारी निर्णय निन्दनीय भएको सिंहको भनाइ छ ।
‘महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ,’ सिंहले भनेका छन्, ‘तसर्थ, दशै.भत्ता भन्दै मेरो नाममा आएको रकम फिर्ता गर्ने जानकारी गराउँदछु ।’
नेपाली काँग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दशैंभत्ता फिर्ताको निर्णय गरेर सांसदहरुलाई बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन पर्ने पनि उनले बताएका हुन्।
यस्तो छ बिज्ञप्ति
अहिले विश्वनै कोरोना महामारीको मारमा परिरहेका बेला नेपाल पनि अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । नागरिकहरु समस्यामा रहँदा सरकार आफ्नो जिम्मेवारीबाट भाग्ने र अनुत्तरदायी बन्ने बाटोमा अग्रसर छ । चीनको बुमानबाट कोरोना भाइरस फैलिएलगत्तै कांग्रेसले संसदमा नै सरकारलाई कोरोना रोकथाम र नियन्त्रणका लागि गम्भीर बन्न आग्रह गरेको र त्यसका लागि आफुले गर्नुपर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिवद्दता जनाएको सबैलाई थाहै छ ।
तर, सरकार समय छँदा गैरजिम्मेवार अभिव्यक्तिमै रुमल्लियो । कोरोना नियन्त्रणका नाममा करोडौं रकम अनियमिततामा समेत सरकार मुछियो । जनता कोरोनासँग संघर्षमा रहँदा सरकारका मन्त्रीहरु मेडिकल सामाग्री खरिदका नाममा विचौलिया पोस्ने र कमिसनको चक्करमा रमाउने गरेको देखियो । महामारीकोयस्तो संकटपुर्ण बेलामा सरकार अत्यन्त अमानवीय र असंवेदनशिल देखिएकोमा हामी खेद व्यक्त गर्न चाहन्छौं ।
विकास कि जनताको जीवन ? भन्ने प्रश्न आउँदा जनताको जीवन सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ । त्यसैले कांग्रेसले कोरोना शुरु हुनासाथ संसद विकास कोषको रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्न माग गर्दै आयो । तर, १२ अर्ब सकिएको सरकारले हिसाव देखाउँदा जनताले सही काममा सो रकम र्च भयो भनेर विश्वास गर्ने कुनै ठाउँ रहेन । न मेडिकल सामाग्री खरिद गरिएको छ । न त उपयुक्त आइसोलेसन वार्ड बन्यो । न त भेन्टिलेटर बनाइयो, न आइसियु वार्ड नै थपिएको छ । जनताले करिब दुई तिहाई मत दिएर बनेको सरकार इतिहासमै जनताप्रति गैरजिम्मेवार सरकारका रुपमा स्थापित हुन पुगेको छ ।
एकातिर जनतालाई पीसीआर परिक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय संसदका सांसदहरुलाई दशैंभत्ता दिने सरकारी निर्णय निन्दनीय छ ।
आफु भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दशैं भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको प्रष्ट छ ।
महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको प्रयासविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ ।
दशै.भत्ता भन्दै मेरो नाममा आएको रकम फिर्ता गर्ने जानकारी गराउँदछु । साथै नेपाली कांग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दशैंभत्ता फिर्ताको निर्णय गरेर आफुजस्तै सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन म आग्रहगर्न चाहन्छु ।
प्रकाशमान सिंह
सांसद,प्रतिनिधिसभा काठमाडौं १
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।