काठमाडौं – नेपाली कांग्रेसका ‘तीन भाइ’ नेताहरू पूर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र उपसभापति विमलेन्द्र निधि एकै ठाउँ देखिएका छन् ।
तीनै नेताहरूले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न शीर्ष नेतृत्वलाई दबाब दिएका छन् ।
आज शनिवार चाक्सीबारीस्थित सिंह निवासमा ३ शीर्ष नेताहरूले बैठकपछि नेतृत्वलाई दबाब दिने निष्कर्ष निकालेका छन् ।
महाधिवेशनको तयारीबारे छलफल चलिरहँदा संस्थापक तीन नेतापुत्र आन्तरिक छलफलमा जुटेका छन् । तीनै जना कांग्रेसका नेतापुत्र यसअघि समेत पटक–पटक भेटघाट र छलफल गरिसकेका छन् ।
संस्थापक बीपी पुत्र शशांकले यसअघि महाधिवेशनका लागि नेता पुत्रहरूबीच अनौपचारिक सहमति भएको बताएका छन् ।
प्रकाशमान गणेशमान सिंहका पुत्र हुन् भने बिमलेन्द्र महेन्द्रनारायण निधिका छोरा रहेका छन् । प्रकाशमानका स्वकीय सचिव यूपी लामिछानेका अनुसार शनिवार तीनै नेताहरूले भदौमै महाधिवेशन गर्नका लागि पार्टीमा दबाब दिने निष्कर्ष निकालेका छन् ।
महाधिवेशन भदौभन्दा ढिला धकेलिएको खण्डमा संविधान र कांग्रेसकै अस्तित्व खतरामा पर्ने तीनै नेताले निष्कर्ष निकालेका छन् ।
‘महाधिवेशन भदौपछि जाँदा संवैधानिक संकट आएर कांग्रेसकै अस्तित्वमाथि प्रश्न उठ्न सक्छ,’ नेताहरूलाई उदृत गर्दै लामिछानेले भनेका छन् ।
कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सिंह, कोइराला र निधिमध्ये १ जना सभापतिमा उम्मेदवारी दिने शशांक कोइरालाले बताए । महाधिवेशनलाई नै लिएर सिंह, कोइराला र निधिले यसअघि कम्तिमा ३ पटक भेटघाट तथा छलफल गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।