काठमाडौं – हालै लुम्बिनी प्रदेशमा एमाले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा तर्फको मतगणनामा नेकपा एमालेका उम्मेदवारले कम र नेपाली कांग्रेसका उम्मेदवारले बढी मत ल्याएपछि लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको संकेत देखिएको थियो ।
राष्ट्रियसभा निर्वाचनकै परिणामका आधारमा विपक्षी गठबन्धनलाई सरकार अल्पमतमा रहेको दाबी गर्न सहज भएको थियो । तर आईतबार प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित गर्दै मुख्यमन्त्री शंकर पोखरेलले संकट टारेका छन् ।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र जनमोर्चाको विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको दाबी गर्दै आएका थिए । लुम्बिनी सरकार संविधानको धारा १६८(१) बमोजिम एमालेको एकल बहुमतका आधारमा गठन गरिएको हो । तर एमालेकै २ सांसदले राजीनामा दिइसकेकाले एकल बहुमत नहुँदा पनि सरकार चलिरहेको छ । सरकारमा मन्त्री रहेका जसपाका ४ सांसदको समर्थन लिएर मुख्यमन्त्री पोखरेलले नीति तथा कार्यक्रम पारित गराएका छन् ।
एमालेका सांसदले राजीनामा दिएपछि प्रदेश सभामा एमालेको एकल बहुमत नरहेको विपक्षी दलको दाबी छ ।
आईतबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले सरकार अल्पमतमा नभएको दाबी गरे । ‘सत्तापक्षमा राजनीतिक हिसाबले अहिले ४५ जना सांसद हुनुहुन्छ,’ पोखरेलले बैठकमा भने । जसपाका ४ सांसदको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन भएकाले फैसलापछि मात्रै अरु विकल्पबारे छलफल हुनसक्ने पोखरेलले बताएका छन् ।
आईतवार प्रदेश सभामा सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्दै बहुमतले पास भएको घोषणा गरे । विपक्षी सांसदले मत विभाजनका आधारमा नीति तथा कार्यक्रम पास गर्नुपर्ने माग गरे पनि सभामुखले आफूलाई अहिलेको अवस्था जानकारी भएकाले प्रक्रिया अघि बढाउने जवाफ फर्काएका थिए ।
‘प्रदेश सभामा सबै सांसद उपस्थित हुनुहुन्छ, आजसम्मकै प्रक्रियामा जाऊँ,’ सभामुख घर्तीले भने, ‘कसैलाई चित्त नबुझे अर्को नियमावली अनुसार जान सकिन्छ ।’ सभामुखले ध्वनि मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्धिन खानले सभामुखको निर्णयलाई स्वीकार गरिएको बताएका छन् । ‘सभामुखले प्रस्टै देखिएको छ, हामीले त्यसै अनुरूप गणना गर्छाैं भन्नुभयो, हामीले मत विभाजन हुनुपर्छ भनेका थियौं,’ खानले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।