काठमाडौं – नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएर बिदा भइसकेका छन् । तर उनले जाँदाजाँदै पारेको झमेलाको असर अहिले सतहमा देखिन थालेको छ ।
जेठ २७ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि गुरुङ पदमुक्त भएका हुन् । त्यसपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनिसकेका छन् ।
गुरुङले जाँदाजाँदै जनता समाजवादी पार्टी (जसपा) नेपालमा झमेला पारेर गएका छन् । जसपा सांसदले समर्थन नगर्ने भएपछि गुरुङले पार्टीका प्रदेश अध्यक्ष अनिल परियारमार्र्फत समर्थन गर्न लगाउँदै नयाँ मुख्यमन्त्रीमा समेत दाबी पेश गरेका थिए । तर त्यो दाबी सदर हुन सकेन । दाबी सदर नभएपछि जसपा झमेला परेको छ ।
जसपा केन्द्रीय कार्यालयले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारलाई समर्थन रहेको उल्लेख गर्दै प्रदेश प्रमुखलाई पत्र लेखिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै जसपाको गण्डकी प्रदेश समिति अध्यक्ष भन्दै अनिल परियारको नाममा १/०७७।०७८ चलानी नम्बर भएको पत्र पेश भएकोप्रति जसपाले ध्यानाकर्षण भएको जनाएका छन् ।
जेठ २८ गते गुरुङ सरकारलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखलाई पत्र लेखेको पाइएको जसपाले जनाएको छ । परियार जसपाको साधारण सदस्य समेत नरहेको विज्ञप्तिमार्फत जनाइएको छ । पृथ्वीसुब्बा गुरुङले नक्कली मान्छे खडा गरेर जसपालाई विवादमा तानेको देखिएको छ ।
गण्डकी प्रदेश समिति अध्यक्ष मोती रिजाल रहेका अधिकारीद्वारा जारी विज्ञप्तिमार्फत जनाइएको छ । हुँदै नभएको हैसियतमा फर्जी र नक्कली लेटरप्याड तथा स्टाम्प बनाएर प्रयोग गरी दिग्भ्रमित गर्ने कार्य अनैतिक भएको जसपाले ठहर छ ।
जसपा कुनै पनि प्रकारको प्रतिगमनकारी र लोकतन्त्र मास्ने कार्यको विपक्षमा रहने समेत जनाइएको छ । जसपाको डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष नेपाली कांग्रेसका नवनियुक्त मुख्यमन्त्री पोखरेल नेतृत्वको गण्डकी प्रदेश सरकारमा सहभागी भएको छ । जसपा सांसद हरिशरण आचार्य विना विभागीय मन्त्री बनेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।