काठमाडौं – गण्डकी प्रदेश प्रमुख कार्यालयमा प्रस्तावित नयाँ मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई समर्थन गर्दै धर्ना दिन पुगेका बहुमत ३१ सांसदलाई प्रवेश निषेध गरिएको छ ।
नेकपा माओवादी केन्द्रकी सांसद आशा कोइरालाले प्रदेश प्रमुखको कार्यालयमा प्रवेश निषेध गरिएको फेसबुकमार्फत जानकारी दिइन् ।
गण्डकी प्रदेशका बहुमत ३१ सांसदलाई सशरीर प्रदेश प्रमुख सिताकुमारी पौडेलसामु उभ्याउँदा समेत नयाँ मुख्यमन्त्री नियुक्त गर्न आनाकानी गरेर षड्यन्त्रको गन्ध आएपछि विपक्षी गठबन्धनका सबै ३१ सांसद अकस्मात प्रदेश प्रमुख कार्यालय पुगेका थिए । तर सांसदहरूलाई गेटबाहिर रोकेर निषेध गरिएको छ ।
प्रदेश सभामा विश्वासको मत गुमाएका पृथ्वीसुब्बा गुरुङले जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाको नाममा नक्कली दाबी गरेको भन्दै विपक्षी गठबन्धनको तर्फबाट नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आपत्ति प्रकट गरेका छन् ।
विपक्षी गठबन्धनका नेतासहित सबै सांसदहरू प्रदेश प्रमुख सिताकुमारी पौडेललाई घेर्न प्रदेश प्रमुख कार्यालय पुगेका छन् । गण्डकी प्रदेशका बहुमत ३१ सांसदलाई सशरीर प्रदेश प्रमुख सिताकुमारी पौडेलसामु उभ्याउँदा समेत नयाँ मुख्यमन्त्री नियुक्त गर्न आनाकानी गरिएपछि नेपाली कांग्रेसले खबरदारी सुरु गरेको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले ३१ सांसदको हस्ताक्षरसहित शुक्रबार नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । तर प्रदेश सभामा विश्वासको मत गुमाएका पृथ्वीसुब्बा गुरुङले समेत दाबी पेश गरेको सूचना बाहिरिएसँगै षड्यन्त्रको आशंका गरिँदैछ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै षड्यन्त्र नगर्न खबरदारी गरेका छन् ।
प्रवक्ता शर्माले लेखेका छन्, ‘होसियार ! शितल निवासको झैं षड्यन्त्र पोखरामा नदोहोरियोस् ! कब्जा शैलीमा राष्ट्रपतिको दुरुपयोगझैं विश्वासको मत २ दिनअघि गुमाएका व्यक्तिको पुनः मुख्यमन्त्रीमा दाबाले षड्यन्त्रको आशंका बढाएको छ । तस्वीर बोल्छ – बहुमतको हस्ताक्षर मात्र होइन, बहुमत ३१ सांसदको उपस्थिति कहाँ छ ?’
यसअघि, देशको नयाँ प्रधानमन्त्री बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बहुमत सांसदसहित दाबी पेश गरेको भएपनि भण्डारीले दाबी नपुग्ने भन्दै प्रतिनिधिसभा विघटन गरिन् । देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको र प्रतिनिधिसभा विघटन गरेको राष्ट्रपति भण्डारीको विवाद यतिबेला सर्वाेच्च अदालतमा विचाराधीन छ ।
राष्ट्रपति भण्डारीको जस्तै विवादको पुनरावृत्ति गर्ने सुरसारमा लागेकी छन् गण्डकी प्रदेशकी प्रदेश प्रमुख सिताकुमारी पौडेल । गण्डकी प्रदेशका कूल ६० सांसदमध्ये ३१ सांसदलाई शुक्रबार सशरीर प्रदेश प्रमुख कार्यालयमा उपस्थित गराएर नयाँ मुख्यमन्त्रीको दाबी पेश गरेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त नगरेर उल्टै विश्वासको मत गुमाएका पृथ्वीसुब्बा गुरुङले समेत दाबी पेश गरेका छन् ।
नेकपा एमालेले केन्द्रदेखि प्रदेशसम्म गरिरहेको जालझेललाई सदर गर्ने काममा लागेकी छन् राष्ट्रपति भण्डारी र प्रदेश प्रमुख पौडेल । गण्डकी प्रदेश प्रमुख सिताकुमारी पौडेललाई हालै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेर गण्डकी प्रदेश पठाएकी थिइन् ।
गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बहुमत ३१ सांसदलाई सशरीर प्रदेश प्रमुखसामु उभ्याएर नयाँ मुख्यमन्त्रीको दाबी पेश गरेपनि जालझेल सुरू भएको देखिँदैछ ।
नेपाली कांग्रेस नेता नेपालीले शुक्रबारै ३१ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । कूल ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसद भए पुग्छ ।
कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले ३१ सांसदको समर्थन जुटाइसक्दा समेत नयाँ मुख्यमन्त्री बन्न नदिन र प्रदेशसभा विघटन गर्न विश्वासको मत गुमाएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समेत मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
प्रदेश सभामा बिहीबार भएको मतदानमा नेकपा एमालेका २७ सांसदले मात्रै गुरुङको पक्षमा मतदान गरेका थिए । तर अहिले गुरुङले बहुमत सांसद रहेको भन्दै झूटा दाबी पेश गरेका छन् ।
मुख्यमन्त्री गुरुङले राजमोका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थन पत्र लिएर दाबी गरेको जनाइएको छ ।
जसपाको केन्द्रमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच आधिकारिकता विवाद रहेका बेला गुरुङले त्यसमा खेलेका छन् । राजमोका कृष्ण थापालाई सर्वोच्च अदालतमा प्रदेश सभा सदस्यमा पुनर्बहाली गरेपछि शुक्रबार पुनः पदमुक्त गरिएको थियो ।
प्रदेश प्रमुख पौडेलले केन्द्रमा जस्तै जालझेल गर्ने देखेपछि विपक्षी गठबन्धनले छलफल अगाडि बढाएको छ । कांग्रेस सांसद बिन्दु थापाका अनुसार सरकार गठनका लागि दिइएको समय दिउँसो ३ बजे सकिएपनि नियुक्ति प्रक्रिया अगाडि नबढाएपछि कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाका सांसदहरू सामूहिक छलफलमा जुटेका छन् ।
जेठ २७ गते प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि नयाँ मुख्यमन्त्री चयनका लागि प्रदेश प्रमुख पौडेलले शनिबार दिउँसो ३ बजेसम्मको समय दिएकी हुन् ।
विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बहुमत सांसदको हस्ताक्षर र सशरीर उपस्थित भएर शुक्रवार प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।