काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत पाउन असफल भएको दिन बिहीबार युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्री पदबाट राजीनामा दिएका छन् ।
मन्त्री मनाङेले नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको जनाएका छन् ।
प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त भएका छन् । मुख्यमन्त्री पदमुक्त भएपछि मनाङेले छुट्टै राजीनामा घोषणा गरेका हुन् । मनाङे मुख्यमन्त्री गुरुङलाई विश्वासको मत दिन समेत आएका थिएनन् ।
राजीनामा पत्रमा उल्लेख छ, ‘मुख्यमन्त्रीज्यूबाट प्रदेश सभामा राखिएको विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भइ मुख्यमन्त्री पदमुक्त समेत भइसकेको सन्दर्भमा मन्त्रीको रूपमा काम गरिरहनु नैतिकसम्मत नहुने हुँदा गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रीबाट आजकै मितिबाट लागू हुने गरी राजीनामा दिएको छु ।’
यसैबीच, मुख्यमन्त्री गुरुङले मन्त्री मनाङेलाई पदमुक्त गरेको जानकारी प्रदेश प्रमुखलाई दिएका छन् । युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्ने जनाउँदै गुरुङले मनाङेलाई पदमुक्त गरेका छन् ।
विश्वासको मत नपाएर मुख्यमन्त्री पदबाट स्वतः पदमुक्त गुरुङले संविधानको धारा १६९(२) अनुसार मनाङेलाई पदमुक्त गरेका छन् ।

मुख्यमन्त्री गुरुङ संविधानको धारा १६८(३) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने ठूलो दलको नेताका आधारमा गत बैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्रीले १ महिनाभित्रै विश्वासको मत लिनुपर्ने धारा १६८(४) अनुसार उनले प्रदेश सभामा विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका छन् ।
कूल ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ जना सांसदको समर्थन आवश्यक पर्नेमा बिहीवार भएको मतदानमा गुरुङको पक्षमा २७ मत मात्रै खस्यो । गुरुङको विपक्षमा ३० जना सांसदले मतदान गरेका थिए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।