काठमाडौं - एमाले नेता योगेश भट्टराईले पार्टी एकताका बाधक अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल भएको आरोप लगाएका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत योगेशले पार्टी शीर्ष नेतृत्वप्रति नै आक्रोश पोखेपछि बालुवाटार र कोटेश्वरमा हल्लीखल्ली मच्चिएको छ । भट्टराईले प्रधानमन्त्री ओली जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोसँग सहकार्य गर्न तयार हुने, तर नेपाल र खनालसँग संवाद गर्न नसक्ने अनि खनाल र नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सहकार्य गर्न तयार हुने, तर ओलीसँग संवाद नै गर्न नचाहने प्रवृत्ति नै एमाले एकताको मूल जड भएको बताएका छन् ।
यो कसले र किन गरिरहेको छ भन्दै उनले प्रश्नसमेत गरेका छन् । पार्टी एकता नहुनुमा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको आ–आफ्नो हठ रहेको निष्कर्षमा उनी पुगेका छन् । उनले ओली किन माधव नेपाल र झलनाथ खनालसँग संवाद गर्न चाहँदैनन् ? माधव नेपाल र झलनाथ खनाल किन ओलीसँग संवाद र सहकार्य गर्न चाहँदैनन् भन्ने प्रश्नसमेत गरेका छन् ।
भट्टराईले लेखेका छन्– कमरेड केपी ओली आफ्नै पार्टीका बरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने, तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने, तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र केका लागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मूल जड यहीँ छ ।
यस बिषयमा कमरेडहरु बीचमा गम्भिर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।