आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गण्डकीमा पृथ्वीसुब्बा गुरुङले विश्वास नपाउँदा प्रदेशसभा विघटन गरेर चुनाव गर्ने खेल

गण्डकीमा पृथ्वीसुब्बा गुरुङले विश्वास नपाउँदा प्रदेशसभा विघटन गरेर चुनाव गर्ने खेल

  • मिडिया डबली
  • मंगलवार, जेठ २५ २०७८

  • 4.7K
    SHARES

  • गण्डकीमा पृथ्वीसुब्बा गुरुङले विश्वास नपाउँदा प्रदेशसभा विघटन गरेर चुनाव गर्ने खेल

    काठमाडौं – गण्डकी प्रदेशसभा विघटनको खतरा बढेर गइरहेको छ । 

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको अल्पमतको सरकारले विश्वासको मत पनि नपाउने र विपक्षी गठबन्धनले सरकार बनाउने सम्भावना पनि नदेखिएसँगै प्रदेशसभा विघटनको खतरा बढेको छ ।

    सरकारले जेठ २७ गतेभित्र विश्वासको मत लिनुपर्ने बाध्यता रहेको छ । गत बैशाख २९ गते ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ दोस्रोपटक मुख्यमन्त्री बनेका हुन् ।

    विपक्षी गठबन्धनले बहुमत पुर्‍याउन नसकेपछि अल्पमतमा परेर राजीनामा दिएका गुरुङलाई प्रदेश प्रमुख सीता पौडेलले ठूलो दलका हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    विश्वासको मत लिने दिन नजिकिँदै जाँदा दुबै पक्ष बहुमत जुटाउन सक्रिय रहेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ वर्तमान अल्पमतको सरकारलाई विश्वासको मत लिएर पूरै समय सरकार चलाउने चाहनामा छन् । जसका लागि गुरुङले साना दलहरु ३ सांसद रहेको राष्ट्रिय जनमोर्चा र २ सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) लाई भित्र्याएर विश्वासको मत आर्जन गर्ने प्रयास गरिरहेका छन् ।

    एमालेका २७ सांसदको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका गुरुङले स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री बनाएर २८ सांसद आफ्नो पक्षमा पारिसकेका छन् । ती २ साना दलको समर्थन लिन प्रयास गरे पनि दुबै दल विपक्षी गठबन्धनमा आवद्ध रहेका छन् । यद्यपि मुख्यमन्त्रीले दलको समर्थन नपाउने स्थिति बनेपछि ती दलभित्रका सांसदभित्र खेल्ने प्रयास गरिरहेका छन् ।

    मुख्यमन्त्री गुरुङले २ सांसद रहेको जसपालाई ३ वटा मन्त्रालय दिने तथा राजनीतिक नियुक्ति समेत भागबण्डा गर्ने भन्दै जाल फालिरहेका छन् । तर बाबुराम–उपेन्द्र पक्षीय सांसद मात्र भएकाले मुख्यमन्त्रीलाई जसपाले समर्थन गर्ने कुनै गुञ्जायस देखिएको छैन । 

    मुख्यमन्त्री गुरुङले जनमोर्चाभित्र खेल्ने प्रयास समेत गरिरहेका छन् । उनले जनमोर्चामा विभाजन ल्याएर कृष्ण थापा पक्षको समर्थन लिन खोजिरहेका छन् । यसमा उनी एक हदसम्म सफल पनि देखिएका छन् तर यत्ति मात्रैले उनलाई विश्वासको मत आर्जन गर्न पर्याप्त हुने देखिँदैन । मुख्यमन्त्री गुरुङ सके आफू मुख्यमन्त्रीमा कायम रहने नभए प्रदेशसभा विघटन गर्ने प्रयासमा रहेका छन् ।

    मुख्यमन्त्रीनिकट स्रोत भन्छ, ‘उहाँको कुरा प्रस्ट छ । सके आफू कायम रहने, होइन भने विपक्षीलाई बहुमत पुग्न नदिने र प्रदेशसभा विघटन गर्ने ।’

    यो कुरालाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था, ऊर्जा, जलस्रोत तथा खानेपानी, कानून, सञ्चार तथा प्रदेशसभा मन्त्री रामशरण बस्नेतले स्वीकारे । ‘यो सरकार ५ वर्षसम्म चल्नुपर्छ भन्नेमा हामी दृढ छौं,’ बस्नेतले भने, ‘सरकारले जनताको काम गरिरहेकाले विश्वासको मत दिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’ 

    विपक्षी गठबन्धनले सरकार बनाउने सम्भावना नदेखिएको भन्दै उनले भने, ‘विपक्षी गठबन्धनमा बहुमत पुग्ने भए हामी छाड्थ्यौं तर त्यस्तो अवस्था अहिले पनि बनेको छैन ।’

    मन्त्री बस्नेतले विश्वासको मत पाए प्रदेशसभा पनि रहने नभए प्रदेशसभा विघटन हुने बताएका छन् । उनले भने, ‘उहाँहरुले विश्वासको मत दिनुभयो भने यो सरकार रहन्छ, दिनुभएन भने उहाँहरुकै कारणले प्रदेशसभा विघटन हुन्छ । संसद विघटन गर्नेतिर माननीयज्यूहरु लाग्नुहुन्न भन्नेमा छौं हामी ।’  

    प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिने गुरुङ ओली पथमै अगाडि बढिरहेका छन् । मुख्यमन्त्री गुरुङको प्रयासमा जनमोर्चाका कृष्ण थापाले साथ दिइरहेका छन् । विपक्षी गठबन्धनको नेतृत्व गर्दै कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्न नमानेका जनमोर्चाका सांसद थापालाई जनमोर्चाले कारवाही गर्दै पदबाट हटाएको थियो । उनलाई पदबाट हटाउने निर्णय कार्यान्वयन भएको भए विपक्षी गठबन्धनमा बहुमत पुग्थ्यो तर सर्वोच्च अदालतले थापालाई पदमा यथावत राखेर काम गर्न दिन अन्तरिम आदेश दिएपछि फेरि विपक्षी गठबन्धनलाई झट्का लागेको छ । 

    पुनर्बहाली भएलगत्तै थापाले पार्टी निर्णयविपरीत मुख्यमन्त्री गुरुङलाई विश्वासको मत दिने आशय व्यक्त गरेका छन् । अझ एक कदम अगाडि उनले भनेका छन्, ‘अब प्रदेशसभा विघटन गर्ने अवस्था आउन दिनु हुँदैन, यसका लागि साना दलहरुले विवेक पुर्‍याएर निर्णय गर्नुपर्छ ।’

    उनी पहिलेदेखि नै कांग्रेस नेतृत्वमा सरकार बनाउन नहुने पक्षमा भएकाले मुख्यमन्त्री गुरुङलाई नै विश्वासको मत दिनुपर्ने उनको आशय छ ।

    विपक्षी गठबन्धनले पनि बहुमत पुर्‍याउन प्रयास गरिरहेको छ । तर यो गठबन्धनलाई बहुमत पुर्‍याउन भ्यागुत्ताको धार्नी पुर्‍याएजस्तै भएको छ । नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ (सभामुखबाहेक) र राजपाका २ गरेर यस गठबन्धनमा २८ सांसद रहेका छन् । यसमा जनमोर्चाका २ मिसिँदा ३० पुग्छ । तर ६० सदस्य रहेको प्रदेश सभामा जनमोर्चाका कृष्ण थापाले पार्टी निर्णयविपरीत कांग्रेस नेतृत्वमा सरकार बनाउन मत नदिने बताएका कारण यो गठबन्धनलाई बहुमत जुटाउन सकस परेको छ ।

    विपक्षी गठबन्धनमा आवद्ध एक सांसद भन्छन्, ‘बहुमत पुग्ने सम्भावना अत्यन्त न्यून छ ।’ बहुमत पुग्दै नपुग्ने होइन भन्दै उनले थपे, ‘तर बहुमत पुग्ने धरातल कमजोर बन्दै गएको छ ।’

    विपक्षी गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता रामजी बराल मुख्यमन्त्री गुरुङले प्रदेश सभाको हत्या गर्ने षड्यन्त्र बुनिरहेको आरोप लगाए । ‘सके आफैं बन्ने, नभए अरुलाई पनि बहुमत पुर्‍याउन नदिने प्रयासमा मुख्यमन्त्री छन्,’ उनले भने ।

    तैपनि विपक्षी गठबन्धनले संसद् विघटन गर्न नदिनका लागि वैकल्पिक सरकारको प्रयास गरिरहेको उनले बताएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १३ २०७८१०:३१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend