काठमाडौं – सरकारले जारी निषेधाज्ञा मोडालिटीमा केही परिवर्तन गरी लुजडाउन शैली अपनाउने तयारी गरेको छ ।
दोस्रो चरणको कोरोना संक्रमण सुरू भएपछि गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको मोडालिटी सर्वसाधारणको दिनचर्या र जनजीवन सहज बनाउने गरी जारी राख्ने तयारी गरिएको छ ।
गृह मन्त्रालयका अनुसार सोमवार साँझसम्म देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा निषेधाज्ञा छ । खोटाङ र मनाङ जिल्लामा निषेधाज्ञा छैन । पछिल्लोपटक काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा तोकिएको छ ।
गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालले अब निषेधाज्ञा शैलीमा दैनिक जनजीवन सहज बनाउने गरी परिमार्जन गरिने बताएका छन् ।
‘निषेधाज्ञा अहिले तत्काल हट्दैन तर मोडालिटीमा परिवर्तन गरिन्छ, अब निषेधाज्ञा लुजडाउन शैलीमा जनजीवन सहज बनाउने गरी अझै केही समय जारी रहन्छ,’ गृह प्रवक्ता दाहालले भने ।
गृह मन्त्रालयले अवस्था हेरेर निषेधाज्ञा अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत गरेको छ । जिल्लास्थित डीसीएमसीले जिल्लाको अवस्था हेरेर निषेधाज्ञा खुकुलो पार्नेबारे निर्णय लिन सक्नेछन् ।
गृह प्रवक्ता दाहालका अनुसार प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाट प्राप्त रायका आधारमा नै यस्तो शैली अपनाउन लागिएको छ । खुकुलो शैलीअन्तर्गत निर्माण, उत्पादनजन्य, कृषि कार्य खुला गर्ने सरकारको तयारी रहेको छ ।
वर्षयाम सुरू भएपछि कृषि कार्यलाई समेत खुला गर्न सरकारले निषेधाज्ञा मोडालिटीमा परिवर्तन गर्न लागेको हो । तर विद्यालय, कलेज, होटल व्यवसाय, पार्टी प्यालेस, सपिङ मल सहितका भीडभाड हुने क्षेत्र भने तत्काल खोलिने छैनन् ।
सामूहिक उपस्थिति हुने तथा बढी भीडभाड हुने विवाह, ब्रतबन्ध, सभा, गोष्ठी गर्न अझै केही समय रोक लगाइने भएको छ । सार्वजनिक यातायातलाई केही समय बन्द नै गर्ने सरकारको योजना रहेको छ । तर अवस्था हेरेर निजी सवारीसाधन भने केही समयपछि जोरबिजोर प्रणालीबाट सञ्चालन गर्ने सरकारको तयारी रहेको छ ।
सार्वजनिक यातायातका साधन सञ्चालन विषयमा यातायात व्यवसायी र भौतिक मन्त्रालयसँग समेत समन्वय गरेर अघि बढ्ने गृह प्रवक्ता दाहालले बताए । सार्वजनिक सवारी सञ्चालनका लागि ती निकायसँग नीति माग्ने सरकारी तयारी रहेको छ । तर तत्काल सवारीसाधन सञ्चालमा लगाइएको रोक खुल्ने छैन ।
निषेधाज्ञा खुकुलो बनाउने सन्दर्भमा कुन–कुन निकाय सुचारु गर्ने र सहज बनाउने भन्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समेत राय लिइने गृह मन्त्रालयले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।