काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विरुद्धको अपराध गरेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल आक्रोशित बनेको छ ।
तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै महाभियोग ल्याएर राष्ट्रपतिलाई हटाउनुपर्ने माग गरेका छन् ।
‘संसदीय मूल्य–मान्यता बोकेका मुलुकहरूले सबै समस्याको समाधान संसदबाट नै खोज्नुपर्छ भन्ने मान्यता नेपाल तरुण दलले राख्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सम्माननीय राष्ट्रपतिज्यूको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ ।’
यस्तो छ विज्ञप्तिको पूर्णपाठ –
संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत छ । संविधान विरुद्ध राष्ट्रपतिद्वारा फेरी घात भएको र यो संविधान विरुद्धको अपराध हो। देश र जनता कोरोना भाईरसको महामारी संग लडिरहेका बेला राष्ट्रपतिबाट भएका यस्ता प्रकारका अव्यवहारिक, अमानबिय र संविधानको मर्म बिपरितका गतिविधिहरु जालसाजीपुर्ण गतिविधि हुन । कुनै संविधानका प्रक्रियाहरु मुलुक संचालनका विधि र व्यवहार हुन । राष्ट्रपति र प्रधानमन्त्रीबाट भएका यस्ता प्रकारका घर व्यवहार संचालन जस्ता देखिने गतिविधिहरु खेद जनक छ । संसदीय मुल्य मान्यता बोकेका मुलुकहरुले सबै समस्याको समाधान संसदबाट नै खोज्नु पर्छ भन्ने मान्यता नेपाल तरुण दलले राख्दछ । साथै सम्माननिय राष्ट्रपति ज्युको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ ।
जय नेपाल ।
जित जङ्ग बस्नेत
अध्यक्ष
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।