काठमाडौं - माओवादी सशस्त्र युद्धका बेला तत्कालीन वाइसियललाई तह लगाउन केपी ओलीले युथ फोर्स जन्माएका थिए । युथ फोर्सको संयोजक भक्तपुर गुण्डुका महेश बस्नेतलाई बनाइयो ।
त्यतिबेलासम्म बस्नेत कतै सिनमा देखिएका थिएनन् । उनी ओली निवास बालकोटमा हरेक दिन धाइरहन्थे । युथ फोर्स जन्मेपछि बस्नेतले वाइसियलका नेता कार्यकर्तामाथि हमला गर्न थाले र संरक्षण गर्ने काम ओलीले गर्दै आए ।
पछि महेश बस्नेतलाई पार्टीमा ठाउँ दिइयो । सांसदको टिकट नै दिइयो । चुनाव हारेका बस्नेतलाई ओलीले मन्त्रीसमेत बनाइदिए । गुण्डागर्दी पृष्ठभूमिबाट आएका बस्नेत अहिले ओलीको छत्रछायाँमा पालितपोषित छ । त्यही भएर उनी यो देश नै आफ्नो कब्जामा भएको दाबी गर्न छाड्दैनन् ।
गत वर्ष संघीय समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको घटनामा मुछिएका बस्नेतले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कुर्सी बचाउन जनमोर्चाका सांसदलाई नै बेपत्ता बनाएर हस्पिटलको आइसियुमा भर्ना गरेको समाचार आइसकेको छ ।
अहिले उनी जसपाका सांसदलाई भक्तपुरको एक रिसोर्टमा थुनेर राखेको मात्र होइन, सो पार्टीको संसदीय दलको बैठकमा बसेर राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गर्न लगाएको समाचार आएको छ ।
जसपाको बैठकमा बसेको तस्बिरसमेत सार्वजनिक भइसकेको छ । एउटा दलको सांसद अर्को दलको संसदीय दलको बैठकमा बस्न मिल्छ ? कानुनी र व्यावहारिक रूपमा पनि मिल्दैन । तर बस्नेतलाई यो छुट छ । किनभने ओली प्रधानमन्त्री छन् ।
कतिसम्म उनले आफैं उपस्थित जसपा बैठकले गरेको निर्णयमा बधाई पनि दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भक्तपुरमा बसेको जसपाको बैठकले ऐतिहासिक निर्णय गरेको भन्दै खुसीको व्यक्त गरेका हुन् ।
‘विगतमा एमाले, माओवादी, कांग्रेसलगायतका दलहरूले पनि कतिपय महत्वपूर्ण बैठकहरू विभिन्न होटल, रिसोर्टहरूमा गर्दै आएको प्रचलन नेपालको राजनीतिमा सामान्य नै हो’, बस्नेतले भनेका छन् ।
कतिपय पालित पोषित मिडिया र परिचालीत सोसल मिडियाका लाउकेहरूले यो विषयलाई अनावश्यक उचाल्न खोजेका छन् । अतिथि देवः भव भन्ने हाम्रो मान्यताका आधारमा भक्तपुरमा उहाँहरूलाई स्वागत गरिएको हो । कसैको स्याल हुइँयाले दाल गल्नेवाला छैन,’ उनले लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।