काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी रोकथामका प्रभावकारी काम नभएको भन्दै नेकपा एमाले कर्णाली प्रदेश सरकारविरुद्ध खुलेरै बोलेको छ ।
एमाले कर्णाली प्रदेश संसदीय दलले कोरोनाको महामारी नियन्त्रणमा कर्णाली प्रदेश सरकारले केन्द्रसँग समन्वय गर्न नसकेको गुनासो समेत गरेको छ ।
प्रदेश सरकार मातहतको प्रदेश अस्पतालले शुक्रबार सूचना प्रकाशित गर्दै अक्सिजन अभावमा बिरामी भर्ना लिन नसक्ने जनाएपछि प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल एमालेले आपत्ति जनाएको छ ।
एमालेले तत्काल उपलब्ध स्रोतसाधनको परिचालन गर्दै केन्द्र सरकारसँग थप सहयोगका लागि समन्वय गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
एमाले संसदीय दलका नेता यामलाल कँडेलले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै तत्कालीन र भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गर्दै अत्यावश्यक सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने, आईसीयू, भेन्टिलेटर सहितका शय्या, चिकित्सक, स्वास्थ्यकर्मी र औषधिको उचित व्यवस्थापनमा लाग्नुको साटो प्रदेश सरकारले आफूसँग भएको स्रोतको परिचालन समेत गर्न नसकेको गम्भीर आरोप लगाएका छन् ।
नेता कँडेलले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि आवश्यक सामग्री अभावले आमनागरिकले व्यहोर्नुपरेको कष्टकर दिनचर्या र मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुका साथै स्वास्थ्य मापदण्ड अपनाउन र विषम परिस्थितिमा सहयोगी भावना बढाउन समेत अनुरोध गरेका छन् ।
प्रदेश अस्पतालले कोरोनाका बिरामीको भर्ना लिन नसक्ने सूचना जारी गरेपछि एमाले कर्णाली प्रदेश कमिटीले समेत प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । प्रदेश अस्पतालले शुक्रबार निकालेको सूचना सच्याउँदै शनिबार अर्काे सूचना प्रकाशित गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।