काठमाडौं – नेकपा एमाले पार्टीभित्र विवाद बढेर संकटमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा) नेपालले कारवाही गरेर निष्कासन गरेका नेताहरूलाई नयाँ मन्त्री नियुक्त गरेका छन् ।
सोमबार मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पोखरेलले जसपाबाट निष्कासित कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यसअघि मन्त्री हुँदा सांसद पद नै गुमेपछि दुवै जना पदमुक्त भएका थिए ।
पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्री बनाइएको छ भने रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाइएको छ ।
जसपाबाट पदमुक्त भएका अन्य २ जना सन्तोष पाण्डेय र विजयबहादुर यादवले हिजो आईतबार नै शपथ ग्रहण गरिसकेका थिए । यससँगै पार्टी निर्णयविपरीत शंकर पोखरेलको पक्षमा लाग्ने चारै जना फेरि मन्त्री बनेका छन् ।
नवनियुक्त शिक्षामन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका छन् । राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री पोखरेलले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
पार्टी निर्णय विपरीत अविश्वासको प्रस्तावको विपक्षमा उभिएपछि मुख्यमन्त्री पोखरेलले पाण्डेलाई शिक्षामन्त्री र रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाएका थिए ।
नेता पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएपछि जसपाका अन्य २ नेतालाई समेटेर आईतबार साँझ नै मन्त्रिपरिषद् विस्तार भएको थियो । लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित ४ दलले अविश्वास प्रस्ताव प्रदेश सभामा दर्ता गरेपछि आईतबार विशेष अधिवेशन सुरु हुनुअघि नै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएका थिए ।
राजीनामा दिएका मुख्यमन्त्री पोखरेललाई प्रदेश प्रमुखले एमालेको एकल बहुमतको सरकारमा मुख्यमन्त्री नियुक्त गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।