काठमाडौं – मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे छलफल गर्न बोलाइएको लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन बैठक बस्नुअघि नै अन्त्य गरिएको छ ।
आज आईतवार दिउँसो १ बजेका लागि बोलाइएको विशेष अधिवेशन आजै दिउँसो १२ बजेदेखि नै लागू हुने गरी अन्त्य भएको छ ।
विशेष अधिवेशनमा आफूमाथि राखिएको अविश्वास प्रस्तावमाथि छलफल प्रारम्भ हुनुअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अधिवेशन अन्त्य गरिएको हो । मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् बैठक राखेर अधिवेशन अन्त्यको सिफारिस गरेपछि प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका छन् ।
‘लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन आह्वान गरेको अवस्थामा माननीय मुख्यमन्त्रीबाट राजीनामा पेश गरेकाले अधिवेशनको औचित्य समाप्त भएको हुँदा अधिवेशन अन्त्य गर्न मन्त्रिपरिद्को मिति २०७८/१/१९ को निर्णय बमोजिम माननीय मुख्यमन्त्रीबाट सिफारिस प्राप्त भएकाले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम संवत् २०७८ वैशाख १९ गते आइतबार दिउँसो १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गरेको छु,’ प्रदेश प्रमुख धर्मनाथ यादवद्वारा जारी सूचनामा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।