काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी तीब्ररूपमा लिएका बेला उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना नियन्त्रणका लागि ४ वटा शीर्षकमा १४ वटा निर्णय गरेको छ ।
हिजो शुक्रवार बसेको सीसीएमसीको बैठकले विभिन्न जिल्लामा जारी निषेधाज्ञालाई व्यवस्थित बनाउने सन्दर्भमा पनि निर्णय गरेको छ ।
निषेधाज्ञालाई व्यवस्थित बनाउन काठमाडौं उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाका एकचौथाइ शाखामा एकचौथाइ कर्मचारी राखेर सञ्चालन गर्ने र त्यसको सहजीकरण राष्ट्रबैंकले गर्ने निर्णय भएको छ ।
अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एकचौथाई कर्मचारीद्वारा सञ्चालन गर्ने, काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरिएको छ ।
यस्ता छन् निर्णयहरू –
आवागमन व्यवस्थापन सम्बन्धमा देहायबमोजिम गर्ने:-
- निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने।
- अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने।
- काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने।
उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माण कार्यसम्बन्धमा देहायबमोजिम गर्ने:
- कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्ने।
- कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने।
- सार्वजनिक निर्माणका कार्यहरूमा संलग्न श्रमिकलाई कार्यस्थलमै बास र खानाको व्यवस्था गरी सार्वजनिक निर्माणका कार्य सुचारु राख्ने।
- आयोजनाका निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका चालक र सहयोगीलाई उद्गम र गन्तव्य प्रष्ट उल्लेख भएको आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा सवारी साधन सञ्चालन गर्ने।
क्वारेन्टिन अनुगमनसम्बन्धमा देहायबमोजिम गर्ने:-
- काठमाडौं उपत्यकाको हकमा पर्यटन विभाग, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्वारेन्टिनमा बस्नेहरूको नियमित अनुगमन गर्ने, अन्य जिल्लाको हकमा प्रदेश र स्थानीय तहले सम्बन्धित निकायहरू सम्मिलित संयन्त्र निर्माण गरी अनुगमन गर्ने।
- होम क्वारेन्टिनमा बसेकाहरूको सम्बन्धमा स्थानीय तहले अनुगमन गर्ने।
- होटेल क्वारेन्टिनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल Deport गर्ने प्रक्रिया अघि बढाउने।
- होटेल क्वारेन्टिनको नियम पालना नगर्ने नेपाली नागरिकलाई कानुनबमोजिम जरिवाना गर्ने।
- होटेल क्वारेन्टिनको व्यवस्थापनमा लापरवाही गर्ने सम्बन्धित होटेल सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने।
जनचेतनासम्बन्धमा देहायबमोजिम गर्ने:-
- आमसञ्चारका माध्यमलाई कोभिडविरुद्धका जनचेतनामूलक सन्देश प्रसारित/प्रकाशित गर्न अनुरोध गर्ने।
- सम्बन्धित स्थानीय तहले टोलटोलमा कोभिडविरुद्धको जनचेतनाका लागि नियमित माइकिङ गर्ने।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।