काडमाडौं – नेकपा एमाले यतिबेला गम्भीर संकटबाट गुज्रिरहेको छ । पार्टीभित्रको विवाद सँगसँगै केन्द्र र प्रदेश सरकारहरू संकटमा परेका छन् ।
गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावलाई निर्णयार्थ पेश हुन नदिन सांसद खिमविक्रम शाहीलाई ‘बन्दी’ बनाइएको आरोप एकातिर लागेको छ भने अर्काेतिर एमालेले मतदानमा हारेको कर्णाली प्रदेशसभामा हंगामा मच्चाएको छ ।
नेकपा एमालेको अवरोधले कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ । कोरोना भाइरस संक्रमणको महामारीका कारण जनता घरभित्र थुनिएको बेला संसद सञ्चालन गर्नु उपयुक्त नहुने भन्दै एमालेले बैठकमा हंगामा मच्चाएको थियो ।
प्रदेशसभा बैठकको सुरूमै नेकपा एमाले प्रमुख सचेतक गुलावजंग शाहले भने, ‘जनता घरभित्र थुनिएका छन् तर सांसद चोरेर बनेको सरकारलाई आफ्नो प्रगति देखाउनुपर्ने होला । यस्तो बेला बैठक चलाउनु उपयुक्त हुँदैन ।’
एमाले प्रमुख सचेतक शाहले बोलेपछि एमाले सांसदहरु आफ्नो सिटबाट उठेर बैठकमा अवरोध गरेका थिए । सभामुख राजबहादुर शाहीले बस्न आग्रह गरे पनि नबसेपछि प्रदेशसभा बैठक अर्को सूचना नआएसम्म बैठक स्थगित भएको छ ।
सातौं अधिवेशनको चौथो बैठक ९ मिनेट बसेर स्थगित भएको हो । यसअघि एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन प्रदेशसभामा राखेको प्रस्ताव पारित भएको थियो । एमालेसँग बहुमत सांसद हुँदाहुँदा पनि फ्लोर क्रस हुँदा मतदानमा एमाले हारेको थियो भने सरकार जितेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।