काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कोरोना भाइरस संक्रमण बढिरहेको बेला विद्यार्थीको स्वास्थ्यमा खेलवाड हुने काम नगर्न सरकारलाई चेतावनी दिएको छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष राजिव ढुंगानाले विद्यालयमा स्वास्थ्य सुरक्षा मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गराउन र विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘भोलिका कर्णधार विद्यार्थीको स्वास्थ्यमा खेलवाड गर्ने काम कुनै पक्षबाट भए पनि त्यो हामीलाई सह्य नहुने कुराको चेतावनी दिन चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।
यस्तै महामन्त्री दीपक भट्टराईले प्रत्येक दिन देशभर संक्रमितको संख्या बढे पनि कोरोनाको नियन्त्रणको सन्दर्भमा सरकारले गरेको लापरबाहीका कारणले विद्यार्थीहरूको स्वास्थ्य र भविष्यमाथि ठूलो खेलवाड भइरहेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
महामन्त्री भट्टराईको आह्वान छ, ‘विद्यार्थीहरू संक्रमित र संक्रमणकै कारण मृत्युु भइसक्दा समेत सरकार गम्भीर नहुनुले विद्यार्थीहरू थप संकटमा परिरहेका छन् । कोरोना संक्रमणको उच्च जोखिममा रहेका र दिन प्रतिदिन संक्रमण बढिरहेका सबै विद्यालय, विश्वविद्यालय, क्याम्पस र शिक्षालय लगायतका शिक्षण संस्थाहरुमा स्वास्थ्य सावधानी र सतर्कताको तत्काल विशेष सुरक्षा व्यवस्था लागू र कार्यान्वयन गर !’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।