काठमाडौं – सर्वाेच्च अदालतले नेकपा एकता बदर गरिदिएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि मुख्यमन्त्री हटाउने प्रयासबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पर्सि शुक्रबार अग्निपरीक्षामा उभिने भएका छन् ।
मुख्यमन्त्री शाहीले पर्सि प्रदेशसभा बैठकमा विश्वासको मतका लागि उभिने भएका छन् ।
मुख्यमन्त्री शाहीले प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै गर्दै नेपालको संविधानको धारा १८८(२) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
कर्णाली प्रदेश सभामा ठूलो दल नेकपा एमालेले नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिनुपर्ने बाध्यता आएको छ ।
नेकपा एमाले संसदीय दलको बैठकले चैत ५ गतेदेखि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रका नेता शाही संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । २ वा २ भन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । मुख्यमन्त्री शाहीले विश्वासको मत लिइसक्नुपर्ने समयसीमा पर्सि शुक्रवार पूरा हुँदैछ ।
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, सरकार प्रवक्ता विमला केसीले ३ गते विश्वासको मत लिने जानकारी दिइन् । ‘संसद सचिवालयमा चिठी दर्ता भइसकेको छ । विश्वासको मत पाउने र नपाउने त्यहीँ दिन थाह हुन्छ,’ उनले भनिन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीको पक्षमा बहुमत नजुटेमा पदमुक्त हुनेछन् भने बहुमत पुगेमा ढुक्कले सरकार चलाउन पाउने छन् ।
प्रदेश सभाको सातौं अधिवेशन समेत शुक्रवारबाटै सुरू हुने भएको छ । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले पर्सि शुक्रवार बस्ने अधिवेशनको पहिलो बैठकमा सभा सञ्चालन नभएको अवस्थामा प्रदेश सरकारले ल्याएका अध्यादेश टेबुल हुने जानकारी दिए ।
प्रदेशसभा सचिव बुढाथोकीले शुक्रवार नै अविश्वासको प्रस्तावउपर टुंगो लाग्ने बताएका छन् । ‘संवैधानिक समयसीमाका कारण सोही दिन मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमाथि टुंगो लाग्नुपर्छ, मुख्यमन्त्रीले विश्वासको मत माग्ने र अन्य दलका नेताहरूले प्रस्तावमाथि आफ्नो धारणा राख्नुहुन्छ,’ बुढाथोकीले भने, ‘कुन दलबाट कसले बोल्ने भन्ने सम्बन्धमा बिहीवार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गर्नेछ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।