काठमाडौं – पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि पुनर्गठन गरिएको नेकपा माओवादी केन्द्रका सचिव आलोक रायमाझीले प्रचण्डसँग कुनै रूपमा एकता गर्न नसकिने बताएका छन् ।
तर प्रचण्डले आत्मालोचना गरेर आएमा भने सोच्न सकिने रायमाझीले बताए ।
‘एकताको कुरै छैन, कम्युनिस्ट पार्टी हुन माओवाद मान्नुपर्छ भनेर हामीले विगतमै उहाँहरूलाई भनेका थियौं,’ रायमाझीले भने, ‘उहाँहरूले माओवाद छाडेकाले हामीले नयाँ पार्टी बनाएका हौं । हामो पनि सैद्धान्तिक आधार छन् । त्यो स्वीकार गर्नुभयो भित्र्याउन सकिन्छ । तर पार्टी नै दिन सकिन्न ।’
नेकपा माओवादी केन्द्र आफूहरूले नै वैधानिक रूपमा पाएकाले अरुले दावी गर्न नमिल्ने पनि उनले बताएका छन् ।
‘हामीले वैधानिक रूपमै नाम पाएका हौं । निर्वाचन आयोगमा दल दर्ता भएको चुनाव चिह्न पाएकोलाई खारेज गर्न पाउने कुनै कानूनी व्यवस्था पनि छैन । त्यसैले स्वतः यस पार्टी आधिकारिक हो,’ उनले भने ।
निर्वाचन आयोगले तलमाथि गरे आफूहरू ऋषि कट्टेलले झैं न्याय खोज्न सर्वोच्च अदालत जाने चेतावनी समेत रायमाझीले दिएका छन् ।
‘पहिलो कुरा कम्युनिस्ट हुनुपर्यो, माओवादी हुनुपर्यो । त्यसमाथि दल दर्ता गरेपछि थुपै गतिविधि गरेका छौं । यदि तलमाथि भएको अवस्थामा हामी कानूनी उपचार खोज्छौं,’ रायमाझीले भने । तर आफूहरू त्यो अवस्थामा पुग्न नपर्ने समेत उनले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।