काठमाडौं – सर्वसाधारण जनताको सुरक्षा र सेवामा खटिनुपर्ने नेपाल प्रहरी संगठनभित्रै कार्यरत एक प्रहरी जवान युवतीको बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।
रुपन्देहीमा भएको घटनापछि ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले नवलपरासीको जग्गामा कार्यरत प्रहरी जवान २२ वर्षीय सुरेश कठारिया थारुलाई १९ वर्षीया युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठोरले शनिवार बिहान करीब ५ बजेतिर तिलोत्तमाको कुमारीकी युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेर फरार रहेको अवस्थामा आईतवार रुपन्देहीकै मंगलापुरबाट पक्राउ गरिएको जानकारी दिएका छन् ।
ती युवती र आरोपी थारूबीच सामाजिक सञ्जालमार्फत चिनजान भएपछि कुराकानी हुने गरेको थियो । प्रहरी जवानले युवतीलाई विभिन्न प्रलोभन देखाउँदै पटक–पटक भेट्न दबाब दिँदै आएका र शनिवार बिहान भेटेर ललाइफकाई बलात्कार गरी हत्या प्रयास गरेको प्रहरी अनुसन्धानबाट देखिएको जनाइएको छ ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) राठोरका अनुसार ललाइफकाई बलात्कार गरेको पोल खुल्ने डरले थारूले झोलाको फिताले घाँटी कसेर हत्या प्रयास गरेको पाइएको छ । केहीबेर घाँटी कसेपछि बेहोस भएकी युवतीको मृत्यु भएको ठानेर नजिकैको खाडलमा फालेर थारु फरार भएका थिए ।
केहीबेरमा होश खुलेपछि पीडित युवती शरीरभरि चोट र घाँटीमा निलडामसहित गाउँलेको सम्पर्कमा पुगेर गाउँलेले उनलाई अस्पताल पुर्याएका थिए ।
ती युवतीको बयान र परिवारको किटानी जाहेरीपछि प्रहरीले आरोपी थारुलाई पक्राउ गरेर बलात्कार तथा हत्या प्रयास उद्योगमा मुद्दा दर्ता गरेको छ ।
पक्राउ परेका थारुलाई ईलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ भने युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी रहेको छ ।
डीएसपी राठोरले युवतीको विक्षिप्त अवस्थामा उपचार भइरहेकाले पहिले उपचार गरेर पछि थप सोधपुछ गरी घटनाको वास्तविकता पत्ता लाग्ने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।