काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्ना पुराना एजेन्डा नछाडेको स्पष्ट पारेको छ ।
विप्लव नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले देशको समस्या हल गर्नको लागि मुख्य–मुख्य विषयमा जनमत संग्रह गर्नुपर्ने पार्टीको एजेण्डा रहेको बताए ।
‘जनताको मत लिने गरौं । हरेक विषयमा जनतम संग्रह गरौं भनेका छौं । यसले जनतालाई परिचालित गर्छ । पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक छ । यो प्रकारको लोकतान्त्रिक समाज बनाऔं । अहिले हामी सरकारसँग छलफल गर्छौं । सेट अफ आईडियाज छ । हामी राख्छौं । खाका छ । हामी भन्छौं । नयाँ दिशामा जानुपर्छ,’ बाँस्तोलाले भने ।
शनिवार रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै बाँस्तोलाले जनमत संग्रह के–के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको बताएका छन् ।
‘सबै भन्न सम्भव छैन । खास–खास विषयमा हुन्छ । अहिले हामी सरकारसँग छलफलमा छौं । संसदीय व्यवस्थाभन्दा पनि लोकतन्त्र मूल कुरा हो । यसको विकसित कुरा गरेका छौं,’ उनले भने ।
नेता बाँस्तोलाले आफूहरू मुलुकलाई समृद्ध बनाउने उद्देश्यमा होमिएकाले पार्टीका धारणाहरू छिट्टै सार्वजनिक गर्ने समेत बताएका छन् ।
‘राजनीतिक आन्दोलनलाई, समस्यालाई समाधान गर्नको निम्ति हामीले धेरै लामो समयदेखि छलफल गर्दै आएका थियौं । नेपालको संविधानले कतिपय विषयलाई समेट्न सकेको छैन भन्दै आएका थियौं । आर्थिक आधार उपयोगी संरचनाको कुरा गरेका थियौं, अहिलेको व्यवस्था परिवर्तन जरुरी छ भनेर हामीले भनेका थियौं । शान्ति प्रक्रियाको १० वर्ष, यो संविधान बनेको ३–४ वर्षमा प्रस्ट भएको छ । सरकारले के महसूस गर्यो भने नेपालमा एउटा राजनीतिक परिवर्तनको जरुरी छ । नयाँ बाटोको जरुरी छ भन्यो । त्यही भएर अहिले सहमति भएको हो,’ उनले भने ।
नेता बाँस्तोलाले संसदीय राजनीतिक व्यवस्थाले मुलुकलाई निकास नदिने समेत बताए । ‘त्यही भएर अहिले संसद् विघटन गर्नुपर्ने अवस्थामा पुग्यो । अहिले दलभित्र तनाव पैदा भएको छ । लडाइँ चलिरहेको छ । अदालतले संसद पुनःस्थापना गरेको छ । अहिले दलभित्र लडाइँ चलिरहेको छ,’ उनले भने ।
बाँस्तोलाले गरीब नेपाली जनताको अवस्था अहिले पनि पहिले जस्तै रहेको बताएका छन् । ‘गरीब जनताको अवस्था जस्तो पहिले थियो, अहिले पनि त्यस्तै छ । ३ करोड नेपाली जनतामा ६० लाख नेपाली जनता सुकुम्बासी छन् । त्यो ६० लाख नेपाली जनताका छोराछोरी पढ्न पाएका छैनन् । काठमाडौंभित्र पनि हाम्रा जनता यतिधेरै पिछडिएका छन् । खासमा २ करोड जनशक्ति श्रम क्षेत्रमा सहभागिता जनाउने रहेछ । यो स्थिति देशको छ । अनि देश कसरी बन्छ ? दुईतिहाइ बहुमत गरेको सरकार, पार्टी छ । तर स्थिति झगडा गर्नुपर्ने छ । ठोस प्रकारको आर्थिक नीति आवश्यक छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।