काठमाडौं – हिजोसम्म प्रतिबन्ध लगाएर कारवाहीको निशानामा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’माथिको प्रतिबन्ध फुकुवा गरेर आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा स्वागत गर्दैछन् ।
प्रतिबन्ध फुकुवा भएपछि विप्लव शुक्रबार बिहान नवलपरासीबाट काठमाडौं आउँदैछन् । नवलपरासीबाट काठमाडौं पुगेलगत्तै विप्लव प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार जाने कार्यक्रम छ ।
बालुवाटारमा प्रधानमन्त्री ओलीले विप्लवलाई स्वागत गर्दै चियापानसँगै भलाकुसारी गर्नेछन् । बालुवाटारको भेटघाटपछि दुबै जना राष्ट्रिय सभागृहमा हुने सामूहिक कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
विप्लवसँग केही विषयमा कुराकानी गर्नुपर्ने भएकाले उनलाई बालुवाटार बोलाइएको सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । ‘उहाँ काठमाडौं आएपछि सोझै बालुवाटार आउनुहुन्छ । केहीबेर प्रधानमन्त्रीसँग छलफल गरेर राष्ट्रिय सभागृह जानुहुनेछ,’ उनले भने, ‘केही विषयमा छलफल र कुराकानी गर्नुपर्ने भएकाले पहिला बालुवाटारमा भेटवार्ता राखिएको छ ।’
सरकारसँगको वार्ता र सहमतिपछि विप्लव नेकपा शान्तिपूर्ण राजनीतिमा आउने भएको छ । आज शुक्रबारै राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।