काठमाडौं - केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल प्रधानमन्त्री र पार्टी अध्यक्ष भइसकेका नेता हुन् । त्यसैले अब यी चार नेताले बन्नुपर्ने र पाउनुपर्ने राजनीतिक पद केही बाँकी छैन ।
तैपनि व्यक्तिगत स्वार्थका कारण नेकपा विभाजन हुन पुगेको छ । राजनीतिक रूपमा विभाजन भइसके पनि कानुनी रूपमा एउटै पार्टी भएकाले अहिले फेरि नेकपाबीच एकताको प्रयासमा दोस्रो तहका नेताहरू लागिपरेका छन् । सर्वोच्च अदालतको फैसलापछि नेकपाका नेताहरू धर्मसंकटमा परेका छन् ।
सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरेपछि र नेकपा विभाजन हुन कानुनी समस्या भएकाले अहिले फेरि नेकपा एक बनाउने प्रयास सुरु भएको हो । यसमा दोस्रो तहका नेता जुटेको बुझिएको छ ।
फागुन २० गते सर्वोच्च अदालतको नेकपा विवादबारे फैसला आउने भएपछि त्यसअघि नै नेताहरू पार्टी विभाजन रोक्न सकिन्छ कि भनेर लागेका हुन् । बिहीबार मात्रै लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं ओली समूहका प्रभावशाली नेता शंकर पोखरेल र प्रचण्ड–माधव समूहका युवा नेता घनश्याम भुसालबीच फोनमा कुराकानी भएको थियो ।
सो क्रममा पहिलो पुस्ताका नेताहरूले स्वेच्छिक अवकाश लिएर सम्मानजनक स्थानमा बसेमा दोस्रो पुस्ताका नेताले नेतृत्व लिने र पार्टी पनि एक हुने विषयमा कुराकानी भएको स्रोतले बताएको छ ।
युवा नेताबीच कुराकानी भए पनि त्यही कुरा पहिलो पुस्ताका नेतासँग हुन बाँकी रहेको नेता भुसालले आफू निकट पत्रकारलाई बताएका छन् । ओली, प्रचण्डलगायतसँग यस विषयमा कुराकानी गर्न बाँकी रहेको उनको भनाइ छ ।
तर, सबैभन्दा ठूलो समस्या भनेको दोस्रो तहमा पनि को सर्वसम्मत र साझा नेता बन्ने भन्ने संकट देखिएको छ । ओली समूह कुनै पनि हालतमा प्रचण्ड–माधव समूहका युवा नेतालाई नेतृत्व दिन चाहँदैन ।
अर्कोतिर ओली समूहमा रहेका नेतामध्ये शंकर पोखरेल अलि सम्भावना बोकेका नेता हुन् । तर, पूर्वमाओवादी पक्षले पोखरेललाई साझा नेता मानेर जान सक्ने सम्भावना नरहेको नेताहरू नै बताउँछन् ।
त्यसैले उनीहरूले नै स्वेच्छिक रूपमा कार्यकारी जिम्मेवारी नलिने घोषणा गरेमा नेकपा विभाजन पनि रोकिन सक्ने र दोस्रो तहका नेताको हातमा पार्टीको नेतृत्व पुग्ने एउटा विकल्प बाँकी रहेको तठस्थ बसेका नेताहरूले बताएका छन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बने पनि यसअघि नै नेकपा ऋषि कट्टेलको नाममा निर्वाचन आयोगमा दर्ता भएकाले अब फागुन २० गते सर्वोच्च अदालतले दिने फैसलाले ओली र प्रचण्ड समूह को कता लाग्ने भन्ने टुंगो लाग्नेछ ।
किनभने सर्वोच्चले कट्टेललाई नेकपा नाम दिने सम्भावना प्रबल रहेको बुझिएको छ । त्यसैले नेकपामा अहिले युवा पुस्ताका नेता वृद्ध नेतृत्वलाई स्वेच्छिक अवकाश लिन दबाब बढाउने विषयमा जुटेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।