काठमाडौं – सर्वाेच्च अदालतले दिएको आदेशलाई कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पुलिसले मान्दैन भन्दा सितिमिति पत्याइँदैन । पुलिसले अदालतको आदेशलाई सम्मान गर्नुपर्ने हुन्छ ।
तर ओली सरकारको पुलिस अदालतको आदेशलाई उल्लंघन गर्दै अदालतभन्दा ठूलो पल्टिएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वाेच्च अदालतले आदेश दिएलगत्तै फेरि पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको छ । बास्तोलालाई सर्वोच्च अदालत बाहिरबाट पक्राउ गरिएको हो ।
पुस २९ गते ललिपुरको बाग्मती गाउँपालिकाबाट पक्राउ परेका बास्तोलालाई अदालतले यसअघि समेत बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको थियो । त्यसपछि महानगरी प्रहरी वृत्त मालीगाउँले नियन्त्रणमा लिएर अनुसन्धान गरेकोमा त्यसपछि जिल्ला प्रहरी कार्यालय सुनसरीमा दर्ता भएको मुद्दाका लागि उतै पठाइएको थियो ।
फेरि बन्दी प्रत्यक्षीकरणको रिट दायर भएकोमा सोमवार सर्वोच्चले सुनुवाइ गर्दै बास्तोलालाई छोड्न आदेश दिएको हो । अदालतको आदेश पाएर रिहा भएलगत्तै प्रहरीको टोलीले फेरि लछारपछार गर्दै बास्तोलालाई नियन्त्रणमा लिएर लगेको छ ।
अदालत बाहिरबाट बास्तोलालाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा दर्ता मुद्दामा अनुसन्धान गर्न पठाइएको प्रहरीले जनाएको छ । काभ्रेमा उनीविरुद्ध संगठित अपराधको मुद्दा दर्ता गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।