बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

केपी ओलीले नारायणहिटीको आँगनमा सभा राख्नु पछाडि लुकेको अचम्मको रहस्य !

केपी ओलीले नारायणहिटीको आँगनमा सभा राख्नु पछाडि लुकेको अचम्मको रहस्य !

  • मिडिया डबली
  • सोमवार, माघ १९ २०७७

  • 4.2K
    SHARES

  • केपी ओलीले नारायणहिटीको आँगनमा सभा राख्नु पछाडि लुकेको अचम्मको रहस्य !

    काठमाडौं – बहुदल आउनुअघि हुने पञ्च र्‍यालीलाई सम्झाउने गरी प्रधानमन्त्री केपी शर्मा ओली शक्ति प्रदर्शनका लागि आफैं सडकमा ओर्लिनु बहुदलयताको पहिलो र राजनीतिक इतिहासको दुर्लभ घटना हो ।

    बहुदलपछि यसअघि पनि प्रतिनिधिसभा विघटन नभएको होइन तर निर्णय गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी सर्वोच्चको फैसला नआउँदासम्म सडकमा शक्ति देखाउने गएका थिएनन् ।

    गत माघ ९ गते नेकपाको प्रचण्ड–नेपाल पक्षले भृकुटीमण्डपमा गरेको सभालगत्तै प्रधानमन्त्री ओलीले भनिदिए, ‘साँघुरो गल्लीमा मान्छे जम्मा पार्दैमा आमसभा हुँदैन । जनपरिचालन र आमसभा कस्तो हुन्छ, २३ गते हेर्नुस्, हामी देखाइदिन्छौं ।’

    माघ २३ गते आमसभा हुन्छ भनेर ओलीले सार्वजनिक कार्यक्रमबाटै घोषणा गरेपछि मात्रै उनको ‘कोर टीम’मा रहेका नेताहरूले त्यसको भेउ पाएका हुन् । सत्ता नै सडकमा ओर्लिएर देखाउन खोजेको सभाको मञ्च नारायणहिटी दरबार संग्रहालयको छेउमा राखेर ओलीले आउँदो २३ गते महेन्द्रको सालिकतिर फर्किंदै भाषण गर्दैछन् ।

    संग्रहालय बन्नुअघि निरंकुश भनेर फालिएको राजतन्त्रको अवशेष नारायणहिटीमा नहोला । तर दरबारिया र राजतन्त्रलाई माया गर्नेहरुका लागि पुरानो शासन व्यवस्था सम्झाउने ठाउँ भने हो । यो पृष्ठभूमिमा समकालीन नेपाली राजनीतिमा आफूलाई संस्थापन देखाउन भरमग्दुर प्रयास गरिरहेका कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले सभा गर्ने र सम्बोधन गर्ने ठाउँ नारायणहिटीको आँगनलाई नै बनाउनुको कारण के होला ?

    नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेले धर्मनिरपेक्षता र गणतन्त्रको उपलब्धि विरुद्धमा ओलीको पछिल्लो गतिविधिकै सिलसिला स्वरुप ठाउँ चयन गरिएको हुनसक्ने भन्दै त्यसले आफू अचम्ममा परेको बताएका छन् ।

    ‘नारायणहिटी अघिल्तिर सभा हुँदैछ रे भन्ने सुन्दा म पनि छक्क परें, त्यो त हामीले २०४६ सालदेखि आन्दोलन गरेको ठाउँ हो, सरकार नै गएर आन्दोलन गर्ने भनेको के हो, मैले बुझेको छैन तर पक्कै अर्थ छ,’ पाण्डेले भने, ‘सरकार सडकमा आउने भनेको मरीचमानको पालामा मात्रै थाहा थियो मलाई त ! उनको मनमा के–कस्तो कुरा छ, ओली आफैं जानून् तर राममन्दिर, पशुपतिदेखि नारायणहिटी अघिल्तिरसम्मको कुरा आपसमा कनेक्टेड हुन् र हामीलाई अचम्म बनाउने विषय पनि हुन् ।’

    पाण्डेका विगतका नजिरले ओलीलाई धर्मप्रति आशक्त भनेर व्याख्या गर्नुपर्ने त्यतिविघ्न कारण भेटिन्नन् । तर पार्टीभित्र र बाहिर पनि आलोचनाको अत्यधिक शिकार बन्दै गएपछि आफूलाई जोगाउन गरेका प्रयासले कहिले उनलाई अति दक्षिणपन्थीजस्तो र कहिले अति अग्रगामीजस्तो देखाइदिएको छ । आफ्नो वरिपरिको ठूलो समूहले विश्वास गर्न छोडेपछि उनको ध्यान पूर्व पञ्चहरूतर्फ मोडिएको विश्लेषण पनि हुन थालेको छ । उनीहरूकै मन जित्न ओली नारायणहिटी दरबार अघिल्तिर उभिएर विरोधीहरूमाथि औंला उठाउने यत्नमा छन् ।

    प्रचण्ड–नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पछिल्लो समय ओलीलाई राजावादीले प्रशंसा गर्न थालेको र उनीहरुकै समर्थन पाउन नारायणहिटी दरबार छेउछाउ ठाउँ रोजिएको हुन सक्ने बताएका छन् । ‘ओलीजीले सर्वोच्चमा बहस गर्न राजावादी वकिल राख्नुभएको छ, २३ गतेको उहाँहरुको कार्यक्रममा राजावादीको समर्थन छ रे भन्ने सुन्दैछु,’ पाण्डेले भने, ‘हिजो कम्युनिस्ट नेता ऋषि देवकोटाको हत्या गर्नेहरु आज ओलीलाई महान् राजनेता भन्दै छन् । अहिले यो चिजले कुनै सकारात्मक सन्देश दिइरहेको हो र ?’ उनले २३ गतेको भेलामा ओलीले हिन्दु राज्यको घोषणा गर्दै छन् भनेर आफूले सुनेको बताएका छन् ।

    ओली नेतृत्वको नेकपाका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने खुला स्पेस नभएका कारण नारायणहिटी अगाडिको ठाउँ रोजिएको तर्क गरे । उनले संविधानले नै गणतन्त्र र धर्मनिरपेक्षताको ग्यारेन्टी गरेकाले त्यसविरुद्ध कोही पनि जान नसक्ने बताएका छन् ।

    ‘सुरेन्द्र कमरेडले भनेझैं मानिलिउँ हिन्दू राज्यको घोषणा भयो रे, घोषणा गरेर मात्रै कार्यान्वयन हुन्छ र भन्या ? संविधान संशोधन गर्न त दुईतिहाइ चाहिने होला । त्यसैले यो जहाँ पनि छिद्र खोज्ने अभियान अन्तर्गतको कुराबाहेक अरू केही होइन,’ ज्ञवालीले भने । नेपालको संवैधानिक विकासक्रम हेर्ने हो भने २०१५ सालको संविधानसम्म मुलुकलाई हिन्दू राज्य भनिएको छैन ।

    २०१५ सालको संविधानले ‘राजा हिन्दू धर्मावलम्बी’ हुनुपर्नेसम्मको व्यवस्था गर्‍यो । २०१७ सालमा ‘कु’ गरेपछि महेन्द्रले जारी गरेको २०१९ सालको संविधानमा पहिलो पटक मुलुकलाई ‘हिन्दू अधिराज्य’ भनियो । जब राजा महेन्द्रले आफूलाई संविधानभन्दा माथि राखेर संविधान जारी गरे, त्यसपछि राजा र हिन्दू धर्मलाई झन् धेरै जोडेर हेर्न थालियो । राजा भगवान् विष्णुका अवतार हुन् भन्ने भाष्य पञ्चायतभरि जबर्जस्त स्थापित भयो ।

    ओलीले राजा फर्काउने त हैन, आफैंले शक्ति केन्द्रीकृत गरेर राजाझैं गरी शक्तिसम्पन्न हुने प्रयास भने दोस्रो पटक प्रधानमन्त्री भएदेखि नै गर्न थाले । जबरजस्ती बलियो देखाउन पार्टीभित्रकै एकथरीले ओलीलाई राजनेताको पगरी लगाइदिएका छन् ।

    ओलीले जे जसो गरे पनि उनीप्रति आफूहरुको कुनै सदाशयता नरहेको राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीको भनाइ छ । ‘प्रतिनिधिसभा विघटन ओलीजीको प्रतिगामी कदम हो, असंवैधानिक कदम हो भन्ने राप्रपाको संस्थागत दृष्टिकोण हो,’ लोहनीले भने, ‘आन्तरिक झगडाले गर्दा उहाँहरुले देशलाई नै खलबल्याइसक्नुभयो । त्यसमा हाम्रो आलोचना छ, समर्थन हुने कुरै रहेन ।’

    धर्मकर्म, मठमन्दिर र पुरातन दर्शन संस्कृतिमाथि दोस्रो पटक प्रधानमन्त्री भएर आएपछि ओलीको झुकाव एकाएक बढ्यो । उनले असार २९ गते रामको जन्मभूमि चितवनको ठोरीमा रहेको बताइसकेका थिए । त्यसको पुनरावृत्ति शनिवार चितवन पुगेर पनि गरेका छन् । आउँदो वर्ष राममन्दिर बनाएर प्राणप्रतिष्ठा गर्ने उनको भनाइ थियो । उसै पनि ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि मठमन्दिरमा राज्यको लगानी अचाक्ली छ ।

    चालू आर्थिक वर्षमा मात्रै मुलुकभर १ हजार ३३९ ठाउँमा मठमन्दिर निर्माण र पुनर्निर्माण हुँदैछन्, जसका लागि राज्यले २ अर्ब ६४ करोड ५२ लाख ४१ हजार २८२ रुपैयाँ बजेट विनियोजन गरेको छ । देवीदेवता र राजाको पुरानै सम्बन्ध भएकाले पनि ओलीले ‘कन्जर्भेटिभ’ विचारधारालाई अवलम्बन गर्न खोजको तर्क लेखक तथा विश्लेषक इन्द्र अधिकारीको छ ।

    ‘प्रगतिशील भनिने व्यक्तिहरुमा आलोचनात्मक चेत पनि हुन्छ, प्रधानमन्त्रीले उनीहरुलाई झुक्याउनसम्म झुक्याउनुभयो, अब त्यो समुदायले उहाँलाई पत्याउँदैन । आकर्षित गर्न र दाबा गरेको जस्तै मेरो पछाडि नेपाली सेन्टिमेन्ट छ भनेर बुझाउनका लागि दुईथरि पब्लिकलाई प्रधानमन्त्रीले टार्गेट गर्नुभएको छ,’ उनले भनिन्, ‘पञ्चायतले राजनीतिक सामाजिकीकरण गरेको मानसिकता अझै जीवित छ, राजा र धर्मलाई छुटाउन नचाहने त्यो एउटा वर्ग र अर्को हिन्दू धर्मलाई नै आधार बनाएर सत्तारोहण गरिरहेको भारतीय पक्ष, जसलाई फकाउँदा धेरैबेर टिक्न सकिन्छ भन्ने प्रधानमन्त्रीको बुझाइ हो ।’

    प्रधानमन्त्री ओलीले आफूलाई शक्तिशाली बनाउन धेरै पटक ‘पश्चगामी’ निर्णय गरेका छन् । त्यसैले पनि उनले गर्ने हरनिर्णय र अभिव्यक्तिमा नागरिकको आशंका छ । अझ संविधान नै मिचेर प्रतिनिधिसभा विघटन गरिदिएपछि ओलीप्रतिको नागरिक भरोसा झन् भासिएको छ ।

    सत्ताधारी नेकपाले भनेझैं खुला ठाउँ नहुँदा–नहुँदै पनि सत्तालाई नै सडकमा खर्लप्पै उतार्नुपर्ने बाध्यताको मुख्यकारण आफूले घोषणा गरेको निर्वाचनमा आफ्नै पार्टीले एक्लै दुईतिहाइ ल्याउने ओलीको महत्त्वाकांक्षा पनि हो तर आधिकारिक पार्टीभित्रको अल्पमत र आफूविरोधी जनमतको संख्या आफ्ना पक्षधरहरुको भन्दा कति हो कति व्यापक छ भन्ने बुझाइ ओली स्वयंको हो र सडकका आन्दोलन, बुद्धिजीवी/विश्लेषक वर्गको तर्क, प्रतिपक्षीको व्यवहारले देखाइरहेको यथार्थ पनि त्यही हो ।

    यस्तोमा परिवर्तनलाई स्वीकार नगरेको एउटा जमातको समर्थन लिन खोज्नु र त्यसका लागि अनेक उपाय अपनाउनुलाई कांग्रेस नेता गगन थापाले सत्ताले देखाएको भद्दा व्यवहारका रुपमा व्याख्या गरे । ‘पशुपतिको दर्शन, माडीमा राममन्दिर बनाउने कुरा, नारायणहिटीअघि सभा गर्ने विषय लगायतलाई एक ठाउँमा राखेर हेर्दा यो एकदमै भद्दा छ । संसारभरका शासक, जो निर्वाचित भएर आएपछि आफूलाई तानशाह बनाउन चाहन्छन्, त्यो ट्रेन्डसित प्रधानमन्त्रीको यो ट्रेन्ड एकदमै मिल्दो छ,’ थापाले भने, ‘पछिल्लो समय यो संविधान बन्दै गर्दा यसलाई नरुचाउने एउटा कन्जर्भेटिभ मत प्रकट भएको छ, त्यो कन्जर्भेटिभ मतको नेता म हो है भन्ने कुराको सन्देश दिन प्रधानमन्त्रीले भरमग्दुर मिहिनेत गरेको देखिन्छ ।’ 

    थापाले आफूलाई शक्तिमा भइरहेको हेर्न चाहने शासकले जहिले पनि नागरिकको इमोसनसँग खेल्ने र ओलीले अहिले आफूलाई धर्मसँग जोडिरहेको बताएका छन् ।

    ओली पक्षीय नेकपा सार्वजनिक रुपमा यी सब तर्कहरुलाई स्वीकार गर्न तयार छैन । बागमती प्रदेश अध्यक्ष एवं आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेल जनतामा केपी ओलीको व्यक्तित्व र पार्टीको उचाइ बढेपछि तिल्मिलाएकाले मात्रै यस्तो टिप्पणी गरेको बताएका छन् । उनले सांस्कृतिक रुपमा उपनिवेश स्वीकार गर्नेहरुले ओलीको विरोध गरिरहेको बताएका छन् ।

    ‘हिन्दू दर्शनको उद्गम नेपालमा भएको हो, जति धार्मिक अनुष्ठान छन् ती नेपालमा छन्, यो सांस्कृतिक राष्ट्रवाद हो, सांस्कृतिक राष्ट्रवादले मुलुकको समृद्धिका लागि ठूलो काम गर्छ,’ नेता पोखरेलले भने, ‘सांस्कृतिक राष्ट्रवाद जोगाउँछु भन्दा कसैको टाउको किन दुख्नुपर्ने ? सांस्कृतिक रुपमा नेपाल गौरवशाली छ भन्दा गरिने प्रलापले हाम्रो प्रधानमन्त्रीलाई कुनै किसिमको असर पर्दैन ।’

    पोखरेलले २ लाख मान्छे उतार्ने आफूहरुको तयारी रहेको र त्यसका लागि कुन ठाउँ उपयुक्त हुन्छ भनेर आफैंले गूगलबाट सर्भे गरेपछि नारायणहिटी अघिल्तिरको ठाउँ फाइनल गरेको बताएका छन् । प्रतिपक्षी कांग्रेसका नेताहरु भने सडकमा समेत सरकार आएर मुलुकलाई मुठभेडतिर धकेल्न खोजेको बताउँछन् । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend