काठमाडौं - नेकपा विभाजनपछि महेश बस्नेतको होसहवास उडेको छ । प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र पूर्वउद्योगमन्त्रीसमेत रहेका बस्नेतले नेकपाकै बहुमत समूहका अध्यक्ष प्रचण्ड र माधव नेपाललाई ठेगान लगाउनुपर्ने बताउँदै आएका छन् ।
विवादास्पद छविका बस्नेतले अब मिडिया र पत्रकारको नामै किटेर धम्की दिन थालेका छन् । युथ फोर्स हुँदै युवा संघको अध्यक्ष बन्दा बस्नेत निकै गन्हाएका थिए । अहिले उनले ओलीको कुकर्म ढाकछोप गर्न साइवर सेना गठन गरेका छन् ।
सोही साइवर सेनाको नामबाट उनले पत्रकारलाई धम्की दिन थालेका छन् । ओलीको कुर्सी जोगाउन तत्कालीन संघीय समाजवादी पार्टीका सांसद डा.सुरेन्द्रप्रसाद यादवलाई जनकपुरबाट काठमाडौंसम्म अपहरणको शैलीमा ल्याउने कामको नेतृत्व गरेका बस्नेतले बुधबार बुटवलमा आयोजित युवा संघको भेलामा ‘नियोजित मिडियाका मान्छे’ भन्दै कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा, ईकागज न्युज पोर्टलका प्रधानसम्पादक हरिबहादुर थापा, रातोपाटी डटकमका ओम शर्माको नामै लिएर धम्क्याएका थिए ।
उनले आफ्नो नेतृत्वको साइवर सेनाले ओलीविरुद्ध लाग्नेलाई निर्ममतापूर्वक दमन गर्ने चेतावनी दिएका थिए । उनले सोही साइवर सेनाको नामबाट प्रचण्ड–माधव समूहका नेताहरूविरुद्ध गालीगलौज, धम्की, चेतावनी दिँदै आएका छन् ।
यसैबीच, नेकपा ओली समूहका नेता महेश बस्नेतले नामै तोकेर विभिन्न सञ्चारमाध्यमका सम्पादकलाई धम्की दिएको भन्दै नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
युनियनका महासचिव अजयबाबु शिवाकोटीले बिहीबार विज्ञप्ति जारी गर्दै बस्नेतलाई कारवाहीको माग गरेका छन् । ‘प्रतिनिधिसभा विघटन गरि प्रतिगमनको बाटोमा हिँडेको ओली सरकारको गतिविधीप्रति आलोचक बन्दै आएको नेपाली सञ्चारमाध्यम संविधान, लोकतन्त्र, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूलाई उभ्याउँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ (‘नेपाली सञ्चारजगतको मूल हिस्सा प्रतिमगनको विरुद्ध सतिसालझै खडा भएपछि अत्तालिएको ओली नेतृत्वको सत्ता र समूह अहिले बर्बराउन थालेको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।