काठमाडौं – भारत सरकारले निःशुल्क उपलब्ध गराएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानको पहिलो एकैदिन बुधवार ९ हजार ८४ जनाले खोप लगाउँदै खुसी व्यक्त गरेका छन् ।
देशभरका ६४ जिल्लाका ९३ खोप केन्द्रमार्फत ९ हजार ८४ जना व्यक्तिले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
खोप अभियानको पहिलो दिन नै स्वास्थ्यकर्मीको उत्साहजनक संलग्नता रहेको मन्त्रालयले जनाएको छ । बुधवार खोप प्राप्त गर्नेमा १ नम्बर प्रदेशका १ हजार २५५, २ नम्बर प्रदेशका ७२६, बागमतीका २ हजार ६९४, गण्डकीका १ हजार ८४३, लुम्बिनीका ७३३, कर्णालीका ७५१ र सुदूरपश्चिम प्रदेशका १ हजार ८२ जना रहेका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले खोप अभियानको शुभारम्भ सफलतापूर्वक सञ्चालन भई खोप लगाएका व्यक्तिमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको बताए । मन्त्रालयले अभियानको पहिलो दिनमै खोप लगाउने व्यक्ति तथा सेवा प्रदायकको स्वस्फूर्त र उल्लेख्य सहभागिता भएको जानकारी दिएको छ ।
अभियानको शुभारम्भपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरुमा खोप कार्यक्रमको स्थलगत अनुमगन समेत गरेका थिए । उपत्यकाका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन अस्पताल र प्रसूति गृह अस्पतालमा रहेका खोप केन्द्रमा प्रधानमन्त्री ओली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसहित मन्त्रालयका अधिकारीले अनुगमन गरेका थिए ।
छोटो समयमा खोप तालिम, ढुवानी तथा वितरण र खोप केन्द्रको व्यवस्थापन गरी अभियानलाई सफल पार्न सहयोग गर्ने सबैलाई स्वास्थ्य मन्त्रालयले धन्यवाद दिएको छ । खोप अभियानमा सबैको सक्रिय सहभागिता र तोकिएको समयभित्र पहिलो चरणको कार्यक्रम सम्पन्न गर्न समेत मन्त्रालयले सबैलाई आग्रह गरेको छ । भारतले सरकारलाई १० लाख डोज खोप निःशुल्क दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।