आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतले दिएको कोरोनाको खोप ५ दिनभित्र सबै जिल्लामा पुगिसक्ने, यसरी हुनेछ वितरण

भारतले दिएको कोरोनाको खोप ५ दिनभित्र सबै जिल्लामा पुगिसक्ने, यसरी हुनेछ वितरण

  • मिडिया डबली
  • बिहिवार, माघ ८ २०७७

  • 4.5K
    SHARES

  • भारतले दिएको कोरोनाको खोप ५ दिनभित्र सबै जिल्लामा पुगिसक्ने, यसरी हुनेछ वितरण

    काठमाडौं – भारतले दिएको खोप ५ दिनभित्र सबै जिल्लाका भण्डारणसम्म पुर्‍याइसक्ने योजना सरकारले बनाएको छ । 

    ‘कानूनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पूरा गरेर खोप लगाउनका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ,’ स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने, ‘प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरु छन् ।’

    स्वयंसेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ । देशभर ५२ हजार महिला स्वयंसेविकासहित करीब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ ।

    बिहीवार ११ः४५ बजे एयर इन्डियाबाट काठमाडौं आइपुग्ने खोप त्रिभुवन विमानस्थलबाट सिधै टेकुस्थित केन्द्रीय खोप भण्डारणमा लगिनेछ । भारतीय राजदूत विनयमोहन क्वात्राले विमानस्थलबाटै स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् ।

    विमानस्थलबाट टेकुको केन्द्रीय खोप भण्डारणसम्म लैजान तापक्रम कायम गर्न मिल्ने उपकरणजडित २ वटा ट्रक तयारी अवस्थामा राखिएको छ ।

    ‘कुन प्रदेशमा कति खोप पठाउने भन्ने विवरण तयार भएको छैन,’ स्वास्थ्य सेवा विभागका एक कर्मचारीले भने, ‘बिहीवार जिल्ला पठाउने विवरण तयार भयो भने शुक्रवार बिहान खोप प्रदेशको भण्डारण स्थलमा पठाइसक्छौं ।’ जिल्लागत विवरण बिहीवार साँझसम्म तयार भइसक्ने मन्त्री त्रिपाठीले बताएका छन् ।

    केन्द्रीय भण्डारणबाट २ दिनभित्र प्रदेशमा र प्रदेशबाट थप २ दिनभित्र जिल्लास्थित भण्डारण स्थलमा पुर्‍याउने योजना रहेको विभाग स्रोतले जानकारी दिएको छ । ‘बढीमा ५ दिनभित्र जिल्लामा खोप पुगिसक्नेछ,’ स्रोतले भन्यो । खोप लगाउन खटिने व्यक्तिलाई तालिम दिन भने अझै बाँकी छ । खोप लगाउने स्थानमा पुर्‍याउनुपर्ने आवश्यक सामान पनि पठाइएको छैन ।

    विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले माथिल्लो तहका कर्मचारीलाई तालिम चलिरहेको बताए । ‘खोप वितरण, ढुवानी, भण्डारण, स्वास्थ्यकर्मीको तालिम र सामग्रीहरु वितरण एकसाथ गर्छौं,’ प्रमुख गौतमले भने ।

    विभागले बुधवार काठमाडौं उपत्यकाका अस्पताल प्रमुखहरुसँग कसरी व्यवस्थित रुपमा खोप लगाउन सकिन्छ भन्ने छलफल गरेको छ ।

    गौतमका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिनेलाई जिल्ला अस्पतालबाट खोप दिइने छ । विभागले यसअघि नै स्थानीय तहमार्फत खोप लगाउने स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिसकेको छ । यसकै आधारमा मन्त्रालयले खोप पठाउन लागेको हो ।

    जिल्ला अस्पतालमा बुथ राखेर खोप कार्यक्रम सञ्चालन गर्न लागिएको विभागले जनाएको छ । उपत्यकाबाहिर जिल्ला अस्पतालमा एउटा बुथ कायम हुने निश्चित भए पनि काठमाडौं, भक्तपुर र ललितपुरमा भने कति बुथ कुन–कुन अस्पतालमा रहने निश्चित नभएको गौतमले बताएका छन् । खोप लगाउन ८ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालन हुने भएका छन् ।

    कूल जनसंख्याको ३ प्रतिशत अर्थात् ९ लाख ११ हजारलाई पहिलो चरणमा खोप दिने योजना रहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताएका छन् । खोप लगाउने स्वास्थ्यकर्मीको तथ्यांक संकलन भइसकेको र सफाइमा खटिने गाउँपालिका र नगरपालिकाका कर्मचारीको तथ्यांक संकलन भइरहेको स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ ।

    भारतले अनुदानमा उपलब्ध गराएको खोप एकैपटक लगाउने कि निश्चित समूहलाई दुबै डोज लगाउने भन्ने टुंगो लाग्न बाँकी रहेको डा. पोखरेलले बताए । नेपालको कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने सरकारको योजना छ । स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिनेहरु, एम्बुलेन्स चालक र स्वयंसेविकालाई लगाएर बाँकी रहेको खोप निजामती कर्मचारीलाई लगाउने कि बृद्धबृद्धालाई भन्ने निर्णय हुन बाँकी छ ।

    १ नम्बर प्रदेशको विराटनगरस्थित भण्डारमा पठाइएको खोप प्रदेशका सबै जिल्लाका साथै २ नम्बर प्रदेशको सप्तरी र सिरहामा पनि वितरण गर्नुपर्ने हुन्छ । विभागका अनुसार भ्याक्सिन चिस्यान भण्डारण विराटनगरमा ९ हजार ७०० लिटर क्षमताको छ । २ नम्बर प्रदेशमा भण्डार छैन । २ नम्बर प्रदेशका अन्य ६ वटा जिल्लामा हेटौंडा भण्डारणबाट खोप व्यवस्थापन हुने विभागले जनाएको छ ।

    हेटौंडामा २ हजार २५० लिटर भण्डारण क्षमताको चिस्यान छ । बागमती प्रदेशको मकवानपुर, सिन्धुली र चितवनमा आवश्यक खोप हेटौंडाबाट वितरण गरिने जनाइएको छ । बागमतीका अन्य १० जिल्लाका लागि भने काठमाडौंको भण्डारणबाट खोप पठाइने छ ।

    कर्णालीमा पनि आफ्नै चिस्यानयुक्त भण्डारण छैन तर विगतदेखि नेपालगञ्जबाट वितरण गरिँदै आएको छ । नेपालगञ्जमा ७ हजार ५०० लिटर क्षमताको भण्डार छ । गण्डकी प्रदेशको पोखरामा ९ हजार ७०० भण्डारण क्षमता छ । यहीँबाट प्रदेशका सबै जिल्लामा खोप पठाइने छ ।

    लुम्बिनी प्रदेशको बुटवलमा ११ हजार २०० लिटर खोप भण्डारण क्षमता छ । त्यहीँबाट जिल्ला अस्पतालहरुमा खोप पठाइने छ । सुदूरपश्चिम प्रदेशको धनगढीमा ९ हजार ७०० लिटरको भण्डारण क्षमता रहेको विभागले जानकारी दिएको छ ।

    भन्सार विभागले नेपाल भित्रिने खोपलाई भन्सारमा जाँचपास सहज बनाउन छुट्टै इकाई खडा गर्ने भएको छ । खोप सामग्रीको जाँचपास सम्बन्धी जानकारीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा छुट्टै इकाई खडा गरी कर्मचारी व्यवस्थापन गर्न लागेको हो । विभागमा समेत तत्काल समस्या समाधान गर्ने कार्यदल रहने भएको छ ।

    ‘खोप पैठारीपूर्व नै कागजात उपलब्ध भएमा इकाईमार्फत जाँचपासपूर्वको प्रक्रिया मिलाइने छ,’ विभागले स्वीकृत गरेको खोप सामग्रीहरू शीघ्र भन्सार जाँचपासका लागि अपनाइने प्रक्रियामा भनिएको छ, ‘कागजमा खोपको परिणाम तथा मूल्य नखुलेको पाइएमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी जाँचपास गरिने छ ।’

    खोप ल्याउने व्यक्ति वा संस्थाले औषधि व्यवस्था विभागबाट प्राप्त गरेको अनुमति प्रमाणपत्र लगायतका कागज पेश गर्नुपर्ने हुन्छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०७:३२:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend