काठमाडौं – सिंहदरबारको मुख्य प्रशासनिक भवन अन्तर्गतको पूर्वी मोहडा (उत्तरी, पूर्वी र दक्षिणी भाग) को भूकम्पले क्षतिग्रस्त भवनमा प्रबलीकरण सम्पन्न भएको छ । यो पहिलो चरणको प्रबलीकरण हो ।
प्रबलीकरण सम्पन्न भएको सो भवनमा यसै महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुने भएको छ ।
पश्चिमी मोहडाको प्रबलीकरण तीव्र गतिमा भइरहेको छ । सिंहदरबारस्थित ११७ वर्ष पुरानो मुख्य भवनको प्रबलीकरण पूर्वी र पश्चिमी मोहडा गरी २ भागमा भइरहेको छ ।
विक्रम संवत् १९६० सालमा सिंहदरबार निर्माण गरिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) प्रमुख श्यामकिशोर सिंहले सिंहदरबारको मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवन) को पहिलो चरणको प्रबलीकरण सम्पन्न भएको जानकारी दिए ।
अहिले दोस्रो चरणमा सूचना प्रविधिसँग सम्बन्धित काम, मेटेनिकल, इलेक्ट्रोनिक र प्लम्बिङ (एमईपी) को काम, आधुनिक फर्निचर, इन्टेरियर डेकोरेसन, सुरक्षासँग सम्बन्धित उपकरण, फायर फाइटिङ जडान, बगैंचा निर्माण लगायतका कार्य अन्तिम चरणमा पुगेको बताउँदै उनले यसै महिनाभित्र प्रबलीकरणसम्बन्धी सम्पूर्ण काम सम्पन्न हुने बताए ।
माघ २० गतेभित्रै सम्पूर्ण काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन भइसकेको उनले बताए । भवनको बाहिरी रङरोगन भइसकेको छ भने आँगनमा घाँस लगाउनुका साथै सौन्दर्यको काम भइरहेको छ ।
भवनको डिजाइन, आर्किटेक्चर, मौलिक स्वरूपमा केही पनि परिवर्तन नगरी पुरानै किसिमले चुना र सुर्की (आरसीसी) प्रविधिमा आधारित भएर प्रबलीकरण भइरहेको आयोजना प्रमुख सिंहले बताए । प्रबलीकरण भइरहेका भवनहरू भूकम्प प्रतिरोधी हुनेछन् ।
भवनको पहिलो तलामा प्रधानमन्त्रीको कार्यालय रहने क्षेत्रलाई आधुनिकीकरण तथा सुरक्षाको दृष्टिकोणले ‘स्पेसल जोन’को रूपमा विकास गरिने आयोजना प्रमुख सिंहले बताए । प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी र विदेशी पाहुनासँग भेट्न छुट्टाछुट्टै कक्ष निर्माण, क्याबिनेट हल, एक्सन रुम निर्माण, वार एक्सन रुम निर्माण (उद्घाटन तथा सम्बोधन कक्ष), स्टुडियो, आराम कक्ष निर्माण गरिएको छ । प्रधानमन्त्री कार्यालय क्षेत्रको हावा शुद्धीकरण गर्न ‘एयर फ्रेसनर’ जडान गरिएको छ । सो क्षेत्रको हावा स्वतः शुद्धीकरण हुनेछ ।
मुख्य सचिव र प्रधानमन्त्री कार्यालयका ५ महाशाखाका सचिवहरूका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ ।
भवनको माथिल्लो तलामा उपप्रधानमन्त्रीको कार्यकक्ष निर्माण गर्नुका साथै ५० जना सचिवको मासिक हुने बैठकका लागि कक्ष निर्माण गरिएको आयोजना प्रमुख सिंहले बताए । सो क्षेत्रमा पानी वितरणका लागि पानी प्रशोधन प्लान्ट निर्माण गरिएको छ ।
पश्चिमी मोहडाको प्रबलीकरण ७५ प्रतिशत सम्पन्न भएकोे छ । अन्य मोहडाको तुलनामा पश्चिमी मोहडाको निर्माण जटिल प्रकृतिको रहेको तथा बहुमूल्य वस्तु, आकृतिहरू रहेकाले न्यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्तअनुसार विशेष सावधानी अपनाउँदै पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको उनले स्पष्ट पारे । उनका अनुसार विशेष गरी सिसा, चुना, काठ र फलाम प्रयोग गरी निर्माण गरिएको पश्चिमी मोहडाको पुनर्निर्माण पनि तत्कालीन शैलीमै भइरहेको छ ।
ऐतिहासिक कलाकृति समेत रहेका यस भवनको पुनर्निर्माणका क्रममा पुरातात्विक सम्पदाको संरक्षण गरेझैं संरक्षण गर्नुपर्ने हुन्छ ।
पश्चिमी मोहडाको काम अबको १ वर्षभित्र सम्पन्न भएपछि सिंहदरबारको पश्चिमी क्षेत्रमा नयाँ फाउन्टेन म्युजिक प्रविधि जडान गरी सौन्दर्यीकरण गरिने उनले बताए ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्मित सिंहदरबारको पश्चिमी खण्ड विक्रम संवत् २०३० सालको आगलागीमा बचेको मौलिक भाग हो । आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो जसको पछि पुनर्निर्माण गरिएको थियो । २०३० सालमा भएको आगलागीपछि अंग्रेजी अक्षर ‘सी’ आकारको यो भवनको जीर्णोद्धारमा सिमेन्ट, बालुवा, रड लगायतका सामग्री प्रयोग गरिएको थियो ।
आवश्यक सामग्री बेलायतबाट झिकाई तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो निजी निवासका रूपमा सन् १९०३ मा युरोपेली शैलीमा सिंहदरबार निर्माण गर्न लगाएका थिए । कूल १ अर्ब ५५ करोड रुपैयाँको लागतमा अहिले सिंहदरबारको प्रबलीकरण भइरहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।