काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीले संकटमा परेका बेला भारत सरकारले अनुदानका रूपमा दिन लागेको कोरोना विरुद्धको १० लाख डोज खोप बिहीवार नेपाल आइपुग्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बुधबार संयुक्त पत्रकार सम्मेलनमार्फत खोप बिहीबार आइपुग्ने जानकारी दिएका हुन् ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार खोप इन्डियन एयरलाइन्सको विमानमार्फत ल्याइने छ ।
स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले खोप ल्याउन प्रशासनिक, कानूनी, प्राविधिक तथा आर्थिक कुनै पनि अवरोध बाँकी नरहेको बताए । स्वास्थ्य मन्त्रालयका अनुसार अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने लगायतको जनशक्तिलाई अर्को हप्तादेखि खोप दिन सुरू गरिने भएको छ ।
नेपालले कूल जनसंख्याको ७२ प्रतिशतलाई कोरोना विरुद्धको खोप दिने लक्ष्य लिएको छ । आवश्यक थप खोप खरिदका लागि भारतको सहयोग महत्त्वपूर्ण रहने अपेक्षा लिएको मन्त्री त्रिपाठीले बताएका छन् ।
पत्रकार सम्मेलनमा भारतीय राजदूत क्वात्राले कोभिड–१९ महामारीको प्रभाव विश्व अर्थतन्त्रदेखि सामाजिक जीवनमा समेत परेको बताएका छन् । कोभिड–१९ महामारीबाट कुनै एक राष्ट्र मात्र नभएर विश्व नै जुधिरहेका बेला नेपाल देश बाहिरबाट खोप पाउने पहिलो राष्ट्र रहेको उनले बताएका छन् ।
भारतले अनुदानस्वरुप उपलब्ध गराएको खोपले २ देशबीचको सम्बन्ध थप सुमधुर बनाएको उनले बताए ।
प्रतिव्यक्ति २ डोज दिने हुँदा पहिलो चरणमा ५ लाख जतिले मात्र खोप पाउने स्थिति रहेको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बताएका छन् ।
‘कतिपय डोज खेर जान्छन्, त्यो हिसाबले ५ लाखभन्दा कमले मात्र खोप पाउने स्थिति देखिन्छ,’ उनले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।