काठमाडौं – दक्षिणी छिमेकी देश भारतले नेपाललाई यसै हप्ताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ ।
भारतले आज बुधवारदेखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमार लगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउने भएको छ ।
भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ आपूर्ति गर्न बुधवारदेखि प्रक्रिया अघि बढाइने भारतस्थित विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
भारतस्थित विदेश मन्त्रालयले मंगलवार जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ, ‘छिमेकी देशहरुबाट भ्याक्सिन उपलब्ध गराउन आग्रह गरिएको छ । बुधवारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश र म्यानमारलाई खोप आपूर्ति गर्छौं ।’
औषधि व्यवस्था विभागले गत शुक्रवार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिने निर्णय गरेको थियो । कोभिसिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो ।
नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरूमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी लगायतलाई यसको डोज दिने तयारी सरकारको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले नेपालले कोरोना विरुद्धको खोप छिट्टै प्राप्त गर्ने बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार अनुदानमा खोप आउने भनिए पनि कति आउने भन्ने निर्क्यौल भएको छैन । हालै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगै स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि भारत भ्रमणमा गएका थिए । कोभिड भ्याक्सिन लगाउन महिला स्वास्थ्य स्वयंसेविकासहित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २ लाखभन्दा बढी कर्मचारीको सूची स्वास्थ्य मन्त्रालयमा तयारी अवस्थामा छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा आउने कोरोना विरुद्धको भ्याक्सिन लगाउने फ्रन्टलाइनरको सूची सबै स्थानीय तहबाट माग गरिसकेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप प्राप्त भएपश्चात् १ हप्ताभित्र लगाइने बताएका छन् । ‘खोप प्राप्त भएको १ हप्ताभित्र लगाउँछौं । खोप लगाउँदा कसैलाई साइड इफेक्ट देखिए सरकारले उपचार गर्छ,’ प्रवक्ता गौतमले भने ।
नेपालको कूल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने सरकारको योजना रहेको छ ।
नेपालमा १५ वर्षमुनिका २८ प्रतिशत जनसंख्या रहेको र उनीहरूलाई खोप लगाइने छैन । सरकारले खोप ल्याउन ४८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । कोरोना विरुद्धको खोप भण्डारणका लागि सरकारले सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।