काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बराबरकै प्रधानमन्त्री भएको बताएका छन् ।
भारतीय न्युज च्यानल ‘जी न्यूज’सँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले देशको भूगोल सानो–ठूलो हुनसक्ने भएपनि सार्वभौमिकता ठूलो–सानो नहुने बताए ।
भारतका प्रधानमन्त्री मोदी उमेरले आफूभन्दा जेठो भए पनि सार्वभौम सत्ता सम्पन्नताको हिसाबले एउटै श्रेणीको प्रधानमन्त्री रहेका ओलीले बताए ।
‘आज भारत आफूलाई बोस सम्झिँदैन । व्यक्तिगत रूपमा उहाँ (मोदी) मभन्दा ठूला हुन्, उमेरको हिसाबले । जब २ प्रधानमन्त्री बस्लान्, ठूलो र सानो होइन, बराबर देशका प्रधानमन्त्री बस्नेछन्,’ ओलीले भने, ‘बराबरीमा मोदीजीलाई कुनै गुनासो छैन । मोदीजीको बराबरीको प्रधानमन्त्री हुँ भन्यो भनेर नराम्रो मान्ने धेरै छन् तर म के गरुँ ? म सबैका कुराको पछि त जान सक्दैन ।’
प्रधानमन्त्री ओलीले २ देशबीच केही विषयमा बहस भइरहेको जनाउँदै बहस हुनुलाई नराम्रो अर्थमा लिन नहुने बताएका छन् । ‘बहस हुनु नराम्रो होइन, बहस स्वच्छ हुनुपर्छ, सत्य पत्ता लगाउनका लागि हुनुपर्छ । बहसले नै सत्यलाई बाहिर ल्याउँछ । बहस नगर्ने हो भने सत्यलाई पत्ता लगाउन सकिँदैन,’ उनले भने ।
अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भारत र चीनबीच संवादका लागि नेपालले समन्वयकारी भूमिका खेल्न सक्ने बताए । उनले भारत र चीन २ छिमेकी देशसँग नेपालले सन्तुलित सम्बन्ध राख्न चाहेको र एकको कार्ड अर्कोसँग कहिल्यै नखेल्ने बताए ।
लद्दाख, गलवान लगायत सीमा क्षेत्रमा भारतको चीनसँग विवाद भइरहँदा नेपालले नक्सा जारी गर्नुमा आशंका रहेको भनेर पत्रकार सुधिर चौधरीले सोधेको प्रश्नमा ओलीले भने, ‘तपाईंको कुरा भड्काउने किसिमको छ । गलवानको अर्को मुद्दा हो । तर भारतलाई वार्ताको प्रस्ताव गर्दा कुनै प्रतिक्रिया आएन । गलवानसँग नेपालको कुनै लिनुदिनु छैन । अर्को देशबीच विवाद हुँदा कुनै एकको साथ लिने नेपालको राजनीति हैन । नेपालको राजनीति त सन्तुलनको राजनीति हो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।