काठमाडौं – छिमेकी देश भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले केही दिनमै कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी गरिरहेका बेला नेपालमा भने खोप कहिले र कहाँबाट आउने भन्ने यकिन हुन सकेको छैन ।
भारतका विभिन्न राज्यमा शुक्रवार खोप लगाउने पूर्वाभ्यास गरिएको छ भने विभिन्न भारतीय शहरमा वितरण केन्द्र स्थापना गरिएका छन् ।
खोपका लागि चाहिने व्यवस्थापकीय तयारी तथा प्रशिक्षण सञ्चालन गरेको भारतले केही दिनमै खोपको व्यापक अभियान सुरू गर्ने तयारी गरेको छ ।
वास्तविक खोप कार्यक्रम सञ्चालन गर्नुअघि गरिएका पूर्वाभ्यासमा हरेक प्रस्तावित खोप केन्द्रमा स्वास्थ्यकर्मीलाई डमी खोप लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाद्वारा विकास गरिएको तथा भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गर्ने कोभासिल्ड र भारत बायोटेकले उत्पादन गर्ने कोभ्याक्सिनलाई आपत्कालीन प्रयोग अनुमति दिइसकेको छ । खोप लगाउने व्यक्तिसँग अनुमति लिएर र खोपका असरलाई अनुगमन गर्ने शर्तमा कोभ्याक्सिनलाई अनुमति दिइएको छ ।
नेपालको अर्काे छिमेकी राष्ट्र बंगालादेशले सेरम इन्स्टिच्युटले बनाएको खोपको आपत्कालीन प्रयोगका लागि शुक्रवार अनुमोदन दिएको छ । बंगालादेशले सेरमसँग ३ करोड डोज खरिद गर्ने सम्झौता यसअघि नै गरिसकेको छ र फेब्रूअरीको सुरूमा खोपको पहिलो लट ढाका पुग्ने अपेक्षा गरिएको छ ।
छिमेकी राष्ट्रहरूमा कोरोना खोपसम्बन्धी द्रुत गतिमा विकास भए पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नेपालमा खोप कहिले र कहाँबाट ल्याउने भन्न्नेमा अझै अन्योलमा छ । स्वास्थ्य मन्त्रालयका अधिकारी हाल विकास भइरहेका तथा विभिन्न देशले अनुमोदन गरेका खोपको खरिदसम्बन्धी विभिन्न सम्भावनालाई नजिकबाट हेरिरहेको बताउँछन् ।
परराष्ट्र मन्त्रालयले हालै भारत सरकारसमक्ष उसले खरिद गर्ने हरेक खोपमा नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोपको मात्रा पनि संलग्न गरेर खरिदमा सहजीकरण गर्न अनुरोध गरिसकेको छ । विश्व स्वास्थ्य संगठन, गाभी र सेपीको सहकार्यमा स्थापना गरिएको कोभ्याक्स सुविधा अन्तर्गत पहिलो चरणमा उपलब्ध हुने २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप र नेपालको अनुरोध अनुरूप भारतीय सरकारले थप २० प्रतिशतलाई आवश्यक खोप उपलब्ध गराए नेपालका कूल जनसंख्याको ४० प्रतिशतले खोप प्राप्त गर्नेछन् ।
नेपालले सिधै निर्माता कम्पनी सेरम इन्सिच्युटलाई पनि आफू खोप खरिद गर्न इच्छुक रहेको पत्र लेखेको छ । ‘तत्काल कुन खोप उपलब्ध हुनेछ भन्ने सुनिश्चित नभएका कारण हामीले सबै सम्भावनालाई खुला राखेका छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘अत्यधिक जोखिममा रहेका ३ प्रतिशत जनसंख्यालाई साढे १ देखि २ महिनाभित्र खोप उपलब्ध गराउन सके पनि त्यसलाई राम्रो प्रगति मान्नुपर्छ ।’
नेपालले खोप खरिद गर्दा मागेको मात्रामा उपलब्ध गराउन सक्ने, सुपथ मूल्यमा उपलब्ध हुने, २ देखि ८ डिग्री सेन्टिग्रेड तथा माइनस २० डिग्री सेन्टिग्रेड तापक्रमको चिस्यानमा राख्न सकिने तथा जुन देशमा उत्पादन भएको हो, त्यही देशमा समेत प्रयोग भएको खोप हुनुपर्नेजस्ता आधारहरू तय गरेको छ । यी आधारले नेपालका लागि सेरम इन्स्टिच्युट, मूल्य मिलेमा मोर्डना र चिनियाँ खोप सिनोफर्म अग्रपंक्तिमा रहेको प्रवक्ता गौतम बताउँछन् ।
चीन सरकारको स्वामित्वमा रहेको कम्पनी सिनोफर्मद्वारा विकास गरिएको खोपलाई चीन सरकारले हालै अनुमोदन गरेको छ । यसैगरी अमेरिकी औषधि उत्पादक कम्पनी मोर्डनाले कम्तीमा २० लाख डोज खरिद गरे नेपाललाई खोप उपलब्ध गराउन सकिने बताएको पनि डा. गौतमले बताए । खोप निर्माता कम्पनीसँग यथाशीघ्र सम्झौता गर्न नेपालले किन नसकेको भन्ने प्रश्नमा प्रवक्ता गौतम तर्क गर्छन्, ‘कुनै खोप निर्मातासँग सम्झौता गर्दा अर्काे उपयुक्त खोप निर्माताले त्योभन्दा छिटो उपलब्ध गराउन सक्छु भन्यो भने के गर्ने ? त्यसैले हामीले सबै सम्भावनालाई खुला राखेका छौं ।’
भारतीय दैनिक हिन्दूस्तान टाईम्सको अनलाइन संस्करणमा बिहीवार प्रकाशित एक समाचार अनुसार नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आगामी हप्ता हुने भारत भ्रमणका बेला भारतले नेपाललाई १ करोड २० लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नेछ ।
भारतका परराष्ट्र सचिव हर्षवद्र्धन श्रींगलाले नेपाल भ्रमणमा क्रममा नोभेम्बरमा भारतले छिमेकी र मित्र राष्ट्रलाई सबैभन्दा पहिला खोप उपलब्ध गराउने बताएका थिए । भारतले मलेरिया रोगका उपचारमा प्रयोग हुने हाइड्रोक्लोरोक्विन विश्वका ८२ देशमा अनुदान र व्यापारिक दुवै हिसाबले आपूर्ति गरेको थियो र कोरोना खोप आपूर्ति गर्दा पनि भारतले यही तरिका अवलम्बन गर्न लागेको हिन्दूस्तान टाइम्सले जानकारी दिएको छ ।
भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आसन्न भ्रमणका अवसरमा खोपको विषयमा सकारात्मक विकास हुन सक्ने संकेत गरे । भ्रमण तालिका औपचारिक रूपमा जानकारी नभए पनि परराष्ट्रमन्त्री ज्ञवाली जनवरी १४ मा भारत जान लागेको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार धनगढीमा आयोजित एक कार्यक्रममा बताएका छन् ।
‘भ्रमणका बेला खोपको कुरा पनि आउला,’ उनले भने । उनले भारतस्थित सेरम इन्स्टिच्युट र भारत बायोटेकजस्ता कम्पनी तथा भारतीय अधिकारीसँग नेपाललाई खोप उपलब्ध गराउन सम्बन्धमा लगातार कुराकानी भइरहेको बताएका छन् । राजदूत आचार्यले शुक्रबार सेरम इन्स्टिच्युटका महाप्रबन्धक प्रसेन अद्यासँग नेपाललाई खोप उपलब्ध गराउनेबारे भिडियो संवाद गरेका छन् ।
‘हाम्रो कुराकानी आशाप्रद र उत्साहजनक छ,’ राजदूत आचार्यले टेलिफोनमा भने । नेपाल सरकारले अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, ५५ वर्षमाथिका वृद्धवृद्धा, दीर्घरोगी लगायत सामाजिक दूरी कायम गर्न कठिन हुने क्षेत्रमा कार्यरत जनशक्तिलाई प्राथमिकताको पहिलो चरणमा राखेर खोप अभियान अगाडि बढाउने तयारी गरेको छ ।
हाल सरकारले खोपका लागि प्राथमिकतामा परेका क्षेत्रका मानिसको सूची संकलन गरिरहेको छ। १४ वर्षसम्मका बालबालिका बाहेकको ७२ प्रतिशत जनसंख्यालाई २ वर्षभित्र निःशुल्क खोप उपलब्ध गराउने सरकारी तयारी छ भने खोपका लागि ४५ देखि ४८ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।