शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

विद्या भण्डारीसँग मिलेर केपी ओलीले अब नेपालमा के–के गर्न सक्छन् ? यी हुन् ३ सम्भावना

विद्या भण्डारीसँग मिलेर केपी ओलीले अब नेपालमा के–के गर्न सक्छन् ? यी हुन् ३ सम्भावना

  • मिडिया डबली
  • बुधवार, पौष २२ २०७७

  • 14.2K
    SHARES

  • विद्या भण्डारीसँग मिलेर केपी ओलीले अब नेपालमा के–के गर्न सक्छन् ? यी हुन् ३ सम्भावना

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो पटकको जमर्कोमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसको छिनोफानो गर्ने जिम्मा सर्वोच्च अदालतको काँधमा आइपुगेको छ ।

    केपी ओलीको कदमविरुद्ध परेको रिटमाथि बुधवारदेखि निरन्तर सुनुवाइ गर्दै अदालतको आदेश आउन कम्तीमा हप्ता दिनभन्दा बढी लाग्ने देखिएको छ ।

    सर्वोच्चले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सदर गर्छ या गर्दैन, त्यो त अनिश्चित छ तर उनको यो निर्णयले नेपालको राजनीतिलाई अस्थिरतातिर धकेल्नेचाहिँ निश्चित नै छ । सर्वोच्चको निर्णय नआउँदासम्म संघर्ष, आन्दोलन, नाराजुलुस, आरोपप्रत्यारोप, वादविवाद गरे पनि त्यसपछि भने राजनीतिक कोर्स फरक ढंगले अघि बढ्ने छ ।

    अहिलेको परिस्थितिबाट हेर्दा सम्भावित ३ परिदृश्य सतहमा देखिन्छन् – प्रतिनिधिसभाको पुनर्स्थापना, वैशाखमा निर्वाचन वा त्यो नभए आउने संवैधानिक संकट ।

    सम्भावित परिदृश्य १ – प्रतिनिधिसभाको पुनर्स्थापना

    २०६२/६३ को जनआन्दोलनपछि संविधान निर्माण प्रक्रियाको अवधिभर सरकार बन्ने र भत्किने क्रम अत्यधिक चल्यो । वर्ष दिन पनि सरकार सञ्चालन हुन नपाउँदा अस्थिरता बढेको ठहरसहित २०७२ असोज ३ गते जारी भएको संविधानमै सरकारविरुद्ध कम्तीमा २ वर्ष अविश्वासको प्रस्ताव ल्याउन नपाइने प्रावधान राखियो ।

    संविधान निर्माणको त्यो अवधिमा एउटै राजनीतिक दल १२ पटकसम्म फुटेको उदाहरणलाई मनन गर्दै राजनीतिक दलसम्बन्धी ऐनलाई समेत कसिलो पारेर दलहरूले स्थिरता सुनिश्चित गर्न खोजेका थिए । त्यसैले पछिल्ला ३ वर्ष नेताहरूबीच जति किचलो चले पनि संविधान र कानुनले नै एउटा स्थिरताको रेखा कोरेकाले नागरिक तहमा प्रत्यक्ष असर परिसकेको थिएन ।

    संविधानले २ वर्षसम्म सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था गरिदिएपछि कम्तीमा २ वर्ष एउटा सरकार चलिहाल्छ भन्ने थियो । राजनीतिक दलसम्बन्धी ऐनले पार्टीको केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर ४० प्रतिशत संख्या नहुँदासम्म दल त्याग गर्न नमिल्ने जटिल व्यवस्था राखिदिएकैले पार्टी जुट्ने र फुट्ने शृंखला पनि अन्त्य भएको हो ।

    प्रधानमन्त्रीलाई मन नपर्नेबित्तिकै संसद् विघटन गर्ने र मध्यावधि चुनाव तोकिहाल्ने ५० को दशकको राजनीतिबाट आजित दलहरुले त्यो व्यवस्थालाई पनि अप्ठ्यारो पारेर सरकार बन्न सक्ने कुनै विकल्प नहुँदा मात्रै प्रतिनिधिसभा विघटन गर्न सकिने प्रावधान संविधानले नै गरेको थियो । तर संविधान र ऐनले गरिदिएको त्यही अप्ठ्यारो परिस्थितिका बाबजुद प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरिदिएपछि आउँदो राजनीतिक अवस्था अस्थिर हुने देखिएको छ । त्यसको दृश्य प्रतिनिधिसभा पुनर्स्थापित भए पनि देखिने छ ।

    सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापित गर्‍यो भने त्यसपछि के होला ? संविधानविद् विपिन अधिकारीको जवाफ छ, ‘प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प टड्कारो छ, त्यो विकल्प, विकल्प होइन भन्नका लागि ठूलो चुनौती छ । संविधानमा नआएका कुरामा मूल्यमान्यता र परम्परालाई बाहिरबाट ल्याएर स्थिर सरकारलाई असर पार्ने काम गर्न सकिन्न । तर पुनर्स्थापित भयो भने पनि अस्थिरताको सुरूआत हुन्छ ।’

    अधिकारी थप्छन्, ‘३ वर्षमा सरकारमा जान नपाएकाहरूले नयाँ सरकार, नयाँ पार्टी बनाउने अभियानतिर जान्छन्, त्यसले संविधानमा स्थिर सरकारको जुन ग्यारेन्टी गरेको थियो, त्यो समाप्त हुन्छ ।’

    विश्लेषकहरूको भनाइमा प्रतिनिधिसभा पुनर्स्थापित हुँदा २ नेकपा मिलेर १ हुने सम्भावना अत्यन्तै न्यून छ, त्यसलाई दुबै नेकपाका नेताहरूले स्वीकार पनि गरिसकेका छन् । सरकार बनाउन एक्लैको बहुमतले पुग्दैन । बहुमतको सरकार नबन्ने भएपछि २०७४ फागुन ३ मा ओली संविधानको धारा ७६(२) अनुसार तत्कालीन माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री भएजस्तै समर्थनका लागि अर्को दलको साथ खोजिने छ ।

    यतिखेर सबैभन्दा धेरै फाइदा नेपाली कांग्रेसलाई हुनेछ, २ नेकपामध्ये जतापट्टि लाग्दा आफ्नो पल्ला भारी हुन्छ, कांग्रेसले त्यही गर्नेछ । दलहरूबीच तानातान चल्दा संसद् सरकार बनाउने र बन्न नदिने प्रक्रियाकै वरिपरि घुम्छ ।

    तर अब प्रतिनिधिसभा विघटन गरेलगत्तै कामचलाउ भइसकेका प्रधानमन्त्री ओलीले यही सरकारका लागि विश्वासको मत लिने सम्भावना भने रहँदैन । किनभने प्रतिनिधिसभा पुनर्स्थापित हुनु भनेको वैकल्पिक सरकार निर्माणको प्रक्रिया सुरू हुनु हो, यही सरकार पुनर्स्थापित हुनु होइन । यद्यपि ओली कत्तिको शक्तिशाली हुन्छन् त्यो भने उनको भागमा पर्ने सांसद संख्याले निर्धारण गर्छ ।

    अर्को नेकपा विभाजनै कसरी हुन्छ, त्यसको टुंगो लागेको छैन । राजनीतिक दलसम्बन्धी ऐनको प्रावधानअनुसार अहिले ओली अध्यक्ष रहेको नेकपालाई पार्टी विभाजन गर्न त्यति सजिलो छैन । किनभने प्रतिनिधिसभा र केन्द्रीय कमिटी दुवैतिर ओलीको ४० प्रतिशत सदस्य संख्या पुग्दैन ।

    राजनीतिक र कूटनीतिक मामिलालाई नजिकबाट नियाल्ने पूर्वप्रशासक एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख सूर्यनाथ उपाध्याय यस्तै यस्तै प्राविधिक कुराको वरिपरि राजनीति घुम्ने आकलन गर्छन् । ‘म कानून र राजनीतिको विद्यार्थी भएका नाताले भन्दा प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावना देख्छु । किनभने संविधानअनुसार प्रतिनिधिसभा भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन । प्रतिनिधिसभा पुनर्स्थापित भइसकेपछि भाँडभैलो हुन्छ, संसद् अस्थिर बन्न सक्छ,’ उनले भने, ‘चुनावमा जाने सरकारको निर्णय सदर गरेर सर्वोच्चले दिउँसै रात पार्छजस्तो मलाई लाग्दैन ।’

    सम्भावित परिदृश्य २ – बैशाखमा चुनाव

    संविधानको अन्तिम व्याख्या गर्ने जिम्मेवारी सर्वोच्चको भएकाले त्यसले दिने आदेशलाई अस्वीकार गर्छौं भन्न कसैले मिल्दैन । प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएन भने सर्वोच्चले गर्ने निर्विकल्प आदेश बैशाख १७ र २७ गतेका लागि घोषित चुनाव सदर गर्नु हो ।

    ‘अदालतले प्रधानमन्त्रीको निर्णय सदर गर्नु भनेको बैशाखमा चुनाव हुनु हो । निर्वाचन आयोगले चुनावका सन्दर्भमा कदेखि ज्ञसम्म हरेक कुरा गराउन सक्छ । नेपाल सरकारले गर्ने भनेको खर्चको व्यवस्थापन हो । त्यसका लागि निर्वाचन आयोग सम्पन्न छ ।

    प्रधानमन्त्रीले चुनाव गराउन सक्दिनँ भन्न मिल्दैन,’ संविधानविद् अधिकारीले भने, ‘तर यो विकल्प मैले देखेकै छैन । अदालतले वैधानिकताको कसीमा बसेर हेर्नुपर्छ, प्रतिनिधिसभा विघटन गर्दा प्रधानमन्त्रीले व्याख्या गरेको धारा सरकार बनाउने बेलाको हो, सरकार बन्न नसकेको बेलाको होइन ।’

    प्रधानमन्त्री ओली स्वयंले पनि आफ्ना आन्तरिक बैठकहरूमा बैशाखमा चुनाव गराउन कठिन हुन सक्ने जनाउ दिएका छन् । निर्वाचन आयोगले पनि बाहिर त मुख खोलेको छैन तर उसले भित्री रुपमा सरकारलाई दिएको सुझावमा पनि बैशाखमा चुनाव गर्न कठिन हुने उल्लेख गरेको छ । १२० दिनको निर्वाचन अवधि गत पुस १५ गतेमै सुरू भए पनि निर्वाचन आयोगले चुनावका लागि कुनै सुरसार गरेको छैन । किनभने राजनीतिक खिचातानीले यसअघि पनि थुप्रै पटक घोषित मितिमा भएको छैन । 

    सुरक्षा व्यवस्थापनदेखि मतपत्र र मतपेटिकासम्मको तयारी गर्नुपर्छ, आयोग त्यतातिर लागेकै छैन । नेपालले हालसम्म विदेशबाट मतपेटिका खरिद गरेर चुनाव गराउँदै आएको छ । कोभिड प्रकोपले यसबेला त्यसको आपूर्ति सहज हुने छैन ।

    ओली नेतृत्वको नेकपाका अधिकांश नेताहरू भने बैशाखमै चुनाव हुन्छ भनिरहेका छन् । चुनाव पक्षधरहरूबीच चलेको अर्को चर्चा बैशाखमा नभए असारसम्ममा चुनाव गराउन सकिन्छ भन्ने हो । संविधानको धारा ७६(७) ले गरेको प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र अर्को चुनाव गराउनुपर्ने व्यवस्थाअनुसार पनि ओलीले असारसम्म चुनाव सार्न सक्छन् । तर असारमै पनि चुनाव हुन त्यति सजिलो छैन ।

    ‘पहिलो कुरा त बैशाखको तयारीले पुग्दैन, अर्कोतिर जनगणना भइरहेको छ । जनगणना सकेपछि चुनाव गर्नुपर्ने परिस्थिति हुन्छ, मतदाता नामावली अपडेट गर्नुपर्‍यो समय लाग्छ । त्यो चुनाव लजिस्टिकल्ली पनि सम्भव छैन,’ उपाध्यायले भने, ‘त्यसपछि संवैधानिक संकट आइहाल्छ, नेपाल फेरि राजनीतिक खेल मैदान बन्छ ।’

    सम्भावित परिदृश्य ३ – चुनाव नभए के होला ?

    यो स्थिति आउनु भनेको मुलुक संविधाननिर्देशित मार्गचित्रबाट बाहिर जानु हो । अहिले बेलाबेला चर्चामा आइरहने ‘संकटकाल’ बैशाखदेखि असारको बीचमा पनि चुनाव भएन भने लाग्न सक्छ । दलहरूसँग राजनीतिक सहमति गरेर समस्या सल्टाउन २०६२/६३ देखि संविधान नबन्दासम्मको अवस्थामा समय धकेलिन्छ । त्यतिखेर कि प्रधानमन्त्री ओलीले नै संकटकाल लगाएर झन् निर्मम निर्णय गर्दै जानुपर्‍यो कि चुनावी सरकार बनाउन भन्दै सबैलाई मान्य हुने साझा व्यक्ति खोज्नुपर्‍यो । सबैलाई मान्य हुने व्यक्तिलाई मन्त्रिपरिषद् अध्यक्ष बनाएर २०६९ सालमै दलहरूले सत्ता तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सुम्पिएकै थिए, फेरि त्यस्तै परिदृश्य दोहोरिनु नयाँ कुरा रहेन ।

    संविधानको धारा २७३ ले सरकारलाई संकटकालको अधिकार दिएको छ । त्यसका लागि सार्वभौमसत्ता, भौगोलिक अखण्डता, युद्ध, आक्रमण, सशस्त्र विद्रोह, महामारीजस्ता संकट आइपर्नुपर्छ । तर आफ्नै सत्तामाथि संकट आइपर्दा सदन भंग गरिदिएका ओलीको कदम सर्वोच्चबाट पनि सदर भयो भने उनलाई संकटकाल लगाउन झन् मनोबल बढ्ने छ ।

    संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रिय सभाबाट संकटकालीन घोषणालाई १ महिनाभित्र अनुमोदन गराउनुपर्छ । ओलीका लागि राष्ट्रियसभा प्रतिनिधिसभाजस्तो प्रतिकूल छैन ।

    संविधानविद् एवं विश्लेषक अधिकारी भने मुलुक यो हदसम्म जान नसक्ने जिकिर गर्छन् । ‘यो संवैधानिक र राजनीतिक पनि होइन, त्यो अराजनीतिक विकल्प हो । शासन गर्नका लागि सम्भावना चाहिन्छ, नेपालमा निर्वाचित या सर्वसम्मत् सरकारबाहेक अरू सरकारबाट पार लाग्छ जस्तो लाग्दैन,’ उनले भने, ‘अर्को बाटोबाट राजा ज्ञानेन्द्रले शासन गर्न खोजेको हामीले देख्यौं नि, तर त्यो सम्भव भएन ।’ आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend