आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गोकुल बास्कोटाको आवाज अख्तियारकै घर्रामा

गोकुल बास्कोटाको आवाज अख्तियारकै घर्रामा

  • मिडिया डबली
  • बिहिवार, पौष २ २०७७

  • 6.6K
    SHARES

  • गोकुल बास्कोटाको आवाज अख्तियारकै घर्रामा

    पूर्वमन्त्री गोकुल बाँस्कोटासामु स्विस सेक्युरिटी प्रेस छपाइ कम्पनीको एजेण्ट भएर रकमको सौदाबाजी गर्न पुगेका विजय मिश्रसँग सम्बन्धित सबुतलाई अख्तियारले आफ्नै घर्रामा राखेको छ ।

    हल्ला भएजस्तो, गोकुललाई चोख्याउन रातारात फाइल अगाडि बढाइँदै गरेको कुरा सत्य नभएको अख्तियार स्रोतले बतायो । तयारी थियो उक्त अडियोलाई नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएर विश्वसनीयता प्रमाणित गराउने ।

    तर, यो पंक्ति लेखिरहँदासम्म अडियो अख्तियारमै छ । अख्तियारले विजय मिश्रलाई बयानका लागि बोलाउँदा उनले जुन मोबाइल सेटमा गोकुलसँगको संवाद रेकर्ड गराएका थिए, त्यो बुझाएका छन् ।

    गोकुल र विजयबीच बाहिर सार्वजनिक भएजतिमात्र संवाद भएको हो ? वा त्योभन्दा फरक वा बढी केही कुरा भएका छन् कि ? वा, संवाद नै बनावटी (क्यारिकेचर गरिएको) हो ? यस्ता कोणबाट अख्तियारले छानवीन गर्ने तयारी थालेको हो । अडियोको त्यस्तो परीक्षणपछि बल्ल वास्तविकता सार्वजनिक गर्ने तयारी रहेको स्रोतले जनायो ।

    उता, पोलिमर नोट प्रकरणमा अनियमितता भएको भनी अख्तियारमा चलेको मुद्दा नौ वर्षपछि टुंगोमा पुगेको छ । विशेष अदालतबाट भएको आदेशउपर पुनरावेदन नगर्ने निर्णयसँगै यो प्रकरणको किनारा लागेको हो ।

    राष्ट्र बैंकका तत्कालिन गभर्नर डा. तिलक रावल, नोट विभागका प्रमुख उपेन्द्रकेशरी पौड्याल र अष्ट्रेलियाको मे फ्लावर लिमिटेडका स्थानीय एजेण्ट हिमालयबहादुर पाँडेले जनही ९१ लाख ९ हजार ८ सय ८९ रुपैयाँ भ्रष्टाचार गरेको भनी ०६८ सालदेखि अख्तियारमा मुद्दा थियो । १० रुपैयाँका पोलिमर नोट छपाई प्रकरणसँग यो मुद्दा सम्बन्धित थियो ।

    उनीहरुलाई ६ वर्षसम्म कैद र ९१ लाख ९ हजार ८ सय ८९ रुपैयाँ नै जरिवाना तिराउनुपर्ने मागदाबी थियो । डा। रावलसहितका प्रतिवादीले नोट छपाउन दिँदा राष्ट्र बैंकलाई अस्वाभाविक मूल्य तिराएर हानी पुर्याएको आरोप थियो ।

    अष्ट्रेलिया सरकारले मे फ्लावर लिमिटेड नामक कम्पनीका मानिसहरुलाई यही प्रकरणमा मुद्दा चलायो । थुन्यो । र, पछि अनियमितता नभएको ठहरसहित उनीहरुलाई क्षतिपूर्ति दिएर मुक्त गरायो ।

    मुद्रक कम्पनीले नै सफाई पाइसकेपछि यताबाट काम दिने पक्षले अनियमितता गर्यो भन्ने कुराको पुष्ट्याइँ नहुने भनी विशेष अदालतले फैसला गरेको थियो । तर, त्यसउपर सर्वोच्चमा पुनरावेदन गर्नुपर्ने एकथरि सरकारी वकिलको राय, अर्काथरिको चाहिँ विदेशको अदालतले निर्दोषिता प्रमाणित गरिसकेपछि फेरि यताबाट किन दुःख दिने भन्ने तर्क ।

    अन्ततः अख्तियार पुनरावेदनमा नजाने भर्खरै टुंगो लागेको छ । त्यस्तै, अहिले अख्तियारको हिरासतमा पाँचदेखि आठ हजार घुसकाण्डका केही बाहेक ठुल्ठूला मुद्दाका थुनुवा छैनन् । उता, स्टिङ अपरेशनमा बद्नाम भएको अख्तियारलाई त्यस्तो काम रोकियोस् भनी दायर मुद्दाउपर जवाफ पेश भएको छ ।

    उसले भ्रष्टाचारीलाई आफैँ खोज्न जाने नभई सेवाग्राहीको उजुरी आएपछि अनुसन्धान थालिने बताएको छ । रिट हाल्नेहरुले पैसा देखाएर लिऊँलिऊँ बनाएपछि फन्दामा पारिन्छ भन्ने आरोप लगाएका छन् तर अख्तियारले भनेको छ, अनुसन्धानबाट ऊ भ्रष्टाचारी हो भन्ने खुलेपछि सबुत बरामदका क्रममा मात्रै त्यस्तो गरिन्छ । अर्थात्, पाँच लाख घूस मागिन्छ । त्यही पैसा बरामद भयो भने दिनेलाई मर्का पर्ने भयो ।

    किनभने, मुद्दा चलुञ्जेल त्यो पैसा पीडितको हातमा पर्दैन । त्यसमाथि अदालत सेटिङ गरेर आरोपीले मुद्दा जिते भने पैसा फर्किंदैन । त्यसैले अख्तियारले पैसा बोकेर हिँड्नु पर्ने बाध्यता अदालतसमक्ष पेश गरिएको छ ।

    स्टिङ अपरेशन हुनुअघि दुईबीच कुराकानी हुन्छ । त्यसलाई अख्तियारले आफ्नै कार्यालयमा जडित प्रणालीबाट रेकर्ड गर्छ वा पीडितलाई मोबाइलमा रेकर्ड गर्न लगाइन्छ ।

    केही दिनदेखि पीडकको गतिविधि अध्ययन भएको हुन्छ । मामुली घटनामा उजुर गर्न जाने सेवाग्राहीलाई फोन रेकर्ड गर भनिएको हुन्छ । – जनआस्थाबाट

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ ६ २०७७०२:३४:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend