काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले चारै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलाई बोलाएर बुधबार छलफल गरेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले मोरङ मिक्लाजुङमा शिक्षकको हत्या गरेको भोलिपल्ट गृह मन्त्रालयले आकस्मिक रूपमा केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको हो ।
बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक गणेश अधिकारी र नेपाली सेनाका प्रतिनिधि सहभागी रहेका थिए ।
बैठकमा विप्लव समूह व्यक्ति हत्यामा संलग्न भएको भन्दै गृहमन्त्री थापाले सुरक्षा रणनीति परिवर्तन गरी उसका गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छन् । यसअघि विप्लव समूहको घोषित रणनीतिमा व्यक्तिको हत्या गर्ने परेको थिएन ।
मंगलवार विप्लव समूहले मिक्लाजुङ–१ स्थित सरस्वती आधारभूत स्कूलका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएर हत्या गरेको छ । हत्याको जिम्मेवारी समेत विप्लवले नै लिएपछि गृहमन्त्री थापाले सुरक्षा बैठक राखेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
‘विप्लव समूहले व्यक्ति हत्याको राजनीति शुरू गरेकोमा गृहमन्त्री थापाको गम्भीर सरोकार छ, सुरक्षा समितिमा यो विषयले प्रवेश पाएको थियो,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘विप्लवले व्यक्ति हत्याको राजनीतिमा संलग्न भएकोमा सरकार टुलुटुलु हेरेर बस्दैन, थप कारबाही अगाडि बढाउन निर्देशन भएको छ ।’
सरकारले २ वर्षअघि विप्लव नेकपालाई प्रतिबन्ध लगाउने निर्णय गर्दै विप्लवको गतिविधि नियन्त्रण गर्ने रणनीति लिएको थियो । विप्लव समूहले गर्ने गतिविधि नियन्त्रणउन्मुख रहेको सुरक्षा अधिकारीको भनाइ रहेपनि मंगलवार शिक्षकलाई विप्लव नेकपाले सुराकी आरोपमा अपहरण गरी हत्या गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।