काठमाडौं - सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता सिर्जना गर्दै पार्टीलाई फुटको दिशामा अग्रसर गराउन खोजेको आरोप लागेको छ ।
अध्यक्ष प्रचण्डले सचिवालयमा पेस गरेको दस्तावेजमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगिन आरोप लगाइएको छ । यद्यपि ओलीले पनि आगामी १३ मंसिरमा बस्ने सचिवालय बैठकमा सो आरोपको खण्डनसहितको दस्तावेज तयार पार्ने गरी गृहकार्य अघि बढाएको खबर आजको राजधानी दैनिकमा छ। दुवै पक्षले एक अर्कालाई पार्टी विभाजन गराउन खोजेको आरोप लगाउँदै आइरहेका छन् ।
दुवै अध्यक्षको छुट्टाछुट्टै दस्तावेजबारे सचिवालयमै छलफल गरी निष्कर्ष निकाल्नुपर्नेमा अध्यक्ष प्रचण्डले आफ्नो दस्तावेज कार्यकर्ता तहमा लैजाँदा त्यसले गलत सन्देश दिने र पार्टी एकतामा नै गम्भीर धक्का लाग्न सक्ने ओली पक्षका नेताको दाबी छ । ओली पक्षका नेताले विधि र पद्धतिको चर्को आवाज उठाउनेहरूले नै विधि पद्धति मिचेर अराजकता मच्चाएको आरोप लगाएका छन् ।
अध्यक्ष प्रचण्डले सो दस्तावेजलाई किताबका रूपमा प्रकाशन गरी प्रदेश तथा जिल्ला तहमा पठाएपछि नेकपाभित्रको विवादले नयाँ रूप लिएको छ । अर्का अध्यक्षलाई आरोप नै आरोप लगाएर तयार पारिए पनि पुस्तकको नाम भने ‘पार्टी एकता र पार्टी निर्माणको आधार’ दिइएको छ । सो किताब देशव्यापी रूपमा वितरण गर्नुलाई पार्टीका नेताले पार्टी विभाजनको औपचारिक कदमका रूपमा चित्रण गर्न थालेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।