काठमाडौं - प्रधानमन्त्री केपी ओली पूर्वमाओवादी समर्थक भन्ने नाम समेत सुन्न चाहँदैनन् । त्यही भएर अहिलेसम्म उनको निजी सचिवालय मात्रै होइन, अन्य मन्त्रालय मातहतका सरकारी नियुक्तिमा माओवादी खेमा पूरै बढारिएको छ ।
सरकारी नियुक्तिमा ओलीले दोहोरो मापदण्ड लागू गरेका छन् । तत्कालीन एमाले र माओवादी मिलेर नेकपा गठन भएकाले सरकारमा पूर्वएमाले र पूर्वमाओवादीको बराबरी हक लाग्नुपर्ने हो ।
तर, केपी ओलीले पेलेकै कारण पूर्वमाओवादी पक्षले ढिम्किनै पाएका छैनन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन खोजेका थिए ।
तर, ओलीले त्यसलाई ठाडै अस्वीकार गरिखिए । ओलीले प्रचण्डसँग कुनै सल्लाह नै नगरी डा.युवराज खतिवडालाई ‘डिफ्याक्टो अर्थमन्त्री’ का रूपमा विशेष आर्थिक सल्लाहकार नियुक्ति गरेर बालुवाटार भित्र्याएका छन् ।
त्यति मात्र होइन, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका भाइ चन्द्र थापाले स्वास्थ्य बिमा बोर्डमा चार वर्षे नियुक्ति पाएका छन् । तर, सूर्य थापा भने कुलमान घिसिङले प्रतिस्पर्धाका आधारमा कार्यकारी निर्देशक बन्नुपर्छ भनेर पूर्वमाओवादी खेमालाई पेलेका छन् ।
पूर्वमाओवादी खेमाका नेता नारायणकाजी श्रेष्ठले कुलमानलाई सरकारले पुनः नियुक्ति दिनुपर्छ भनेर प्रस्ताव राख्दा उनलाई ठाडै चुनौती दिने यिनै सूर्य थापा हुन् ।
तर, उनले आफ्ना भाइ चन्द्र थापालाई भने चार वर्षका लागि स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिलाएका छन् । बालु्वाटारमै बसेर पूर्वमाओवादीलाई पेल्नेमा थापा एक कदम अगाडि छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।