काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न अफर गरेको खुलासा गरेका छन् ।
बुधबार बीपी कोइरालाको १०७ औं जन्मजयन्तीका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा नेता पौडेलले पहिलो संविधानसभाको विघटनको रात प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न अफर गरेको खुलासा गरेका हुन् ।
यसका लागि प्रचण्डले सर्त राखेको उनको भनाइ छ । नेता पौडेलकाअनुसार संविधानमा १० राज्यका पक्षमा सहमति जनाउन सर्त राखेका थिए । तर, आफूले जातीय राज्य नमान्ने अडान राखेको पौडेलको दाबी छ ।
‘बालुवाटारमा राति प्रचण्ड, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई, माधव नेपाल, झनलाथ खनाल, केपी ओली हुनुहुन्थ्यो, प्रचण्डले रामचन्द्रजी दशवटा राज्यका पक्षमा सहमति जनाउनूस्, तपाईंलाई प्रधानमन्त्री बनाउँछु भनेर प्रस्ताव गर्नुभयो । तर मैले प्रधानमन्त्रीको कुर्सी त के, इन्द्राशन नै दिए पनि मान्दिन भनेर जवाफ दिएँ, किनकि जातीय आधारमा राज्य हुनुहुँदैन भन्ने मेरो मान्यता हो,’ पौडेलले भने ।
संविधान निर्माणमा प्रमुख विवादित विषयमध्येको एक प्रदेशको संख्यामा सहमति जुट्न सकेको थिएन । प्रदेशबारे सहमति नभएपछि त्यही रात तत्कालीन प्रधानमन्त्री भट्टराईले संविधानसभा विघटन गरेका थिए। कांग्रेस नेता पौडेल प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा १७ पटक पराजित भएका थिए ।
२०६७ साउनमा प्रधानमन्त्री पदका लागि व्यवस्थापिका संसदमा भएको चुनावमा कांग्रेसबाट पौडेल, माओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालबीच सातपटकसम्म प्रतिस्पर्धा भएको थियो । आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैं बाहिरिए ।
पौडेलले भने खनालसँग १७ पटक प्रतिस्पर्धा गरेका थिए । तर, अहिले आएर पौडेलले प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न अफर गरेको कुरा किन सार्वजनिक गरे ? सर्वत्र चासो उत्पन्न भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।