काठमाडौं - नेपाल पत्रकार महासंघले निषेधाज्ञाका क्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाँउमा कतिपयले सञ्चारकर्मीको परिचय दिई सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गरेकोप्रति गम्भीर ध्यानाकर्ण भएको जनाएको छ ।
जनतालाई सूसुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई कसैले पनि दुरुपयोग गर्नु गम्भीर आपत्तिको विषय भएको महासंघको महासचिव रमेश विष्टद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
‘यस्ता दुरुपयोगले पत्रकारिता पेशाको प्रतिष्ठा र मर्यादामा आँच पुग्ने महासंघको ठहर छ’, उनले भने, ‘महासंघ पत्रकारिता पेशाभन्दा बाहिरका व्यक्तिहरूलाई आफ्नो सवारी साधनमा प्रेस लेखेर हिँडडुल नगर्न आग्रह गर्दछ ।’
‘आम सञ्चारकर्मी र सञ्चार प्रतिष्ठनलाई पनि पेशागत कर्मका समयमा मात्रै प्रेस उल्लेख गरिएको सवारीसाधन प्रयोग गर्न, आफन्त वा साथीभाइलाई प्रेस पास नदिन र प्रेस पासको दुरुपयोग हुन नदिन सचेत रहन आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
‘प्रेसपासको दुरुपयोग रोक्न महासंघ नेपाल प्रहरी लगायतका सम्बन्धित निकायहरूलाई हार्दिक आग्रह गर्दछ’, उनले भने, ‘प्रेस उल्लेखित सवारी साधनमा सवार सबै यात्रुको प्रेस पास चेकजाँच गर्न, प्रेस पास अधिकारिक भए नभएको निश्चित गर्न र सम्बन्धित व्यक्ति पत्रकारिताको पेशागत जिम्मेवारीमा हिँडेको वा नहिँडेको निश्चित गर्न महासंघ महानगरिय ट्राफिक प्रहरी कार्यालय सहितका सम्बन्धित निकायलाई हार्दिक आग्रह गर्दछ ।’
‘कसैले प्रेसको दुरुपयोग गरेको पाइएमा कानुनी कारवाही गर्न महासंघ सम्बन्धित निकाय समक्ष हार्दिक आग्रह गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।