काठमाडौँ- विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले सगरमाथाको उचाइ भने पहिलो पटक मापन गरेको छ । हालसम्म नेपालले अरू नै देशले गरेको मापनलाई मान्दै आएको थियो ।
सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलले उचाइ नाप्ने काम सकिएको जानकारी दिए । ‘उचाइ घोषणाका लागि चीनसँग समन्वय भइरहेको छ’, सहसचिव डंगोलले भने । चीनसँग संयुक्त रूपमा उचाइ घोषणा गरिने उनको भनाइ छ । उनले नयाँ उचाइ कति भनेर खुलाएनन् ।
नापी विभागले असार मसान्तभित्र अन्तर्राष्ट्रिय कार्यशाला गरी उचाइ घोषणा गर्ने तयारी गरेको थियो । तर, लकडाउनका कारण तथ्यांक प्रशोधन प्रभावित भयो । अब भने प्रशोधनसहित सम्पूर्ण काम सकिएको संयोजक डंगोलको भनाइ छ । अन्नपूर्ण पोस्टमा खबर छ ।
डंगोलका अनुसार सन् २०१८ फेब्रुअरीमा सगरमाथाको उचाइ मापनको फिल्ड वर्क सुरु भएको थियो । उक्त काम डिसेम्बरमा सकिएको थियो । प्रमुख नापी अधिकृत खेमलाल गौतम र नापी अधिकृत रविन कार्कीले २०१९ मे २२ मा सगरमाथाको उचाइ पुगेर जीएनएसएस सर्वेक्षण गरेका थिए । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल आधार शिविरसम्म पुगेकी थिइन् ।
डंगोलका अनुसार सगरमाथा उचाइ मापन गर्न जियोइड प्रतिपादन भूआकर्षण बिन्दु आवश्यक पर्छ । सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुंगाका विभिन्न स्थानमा गरी ४८ बिन्दुको मोनुमेन्टसन गरिएको छ ।
१०२ बिन्दुमा जीएनएसएस सर्भेक्षण गरिएको छ । सिरहाको मदारबाट सोलुखुम्बुको पतालेसम्म ४९ बिन्दुको लेभलिङ रुटमा जीएनएसएस सर्भेक्षण भएको छ । ‘चीनतर्फ पनि सगरमाथा उचाइको मापन गरिरहेको छ ।
‘चीनसँग सगै घोषणा गर्ने कुराले केही समय लाग्ने देखिएको छ’, मन्त्रालय स्रोतले भन्यो । नापी विभागका पूर्वउपमहानिर्देशक सुरेशमान श्रेष्ठले सगरमाथा नेपालको भएकाले उचाइ घोषणा आफैले गर्नु उत्तम हुने बताए । यद्यपि, दुई मुलुकका राष्ट्रपति बसेर संयुक्त रूपमा घोषणा गर्दा पनि फरक नपर्ने उनको तर्क छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।