काठमाडौं– शनिवार राप्रपा परित्याग गरेका पूर्वमन्त्री सुनिल थापा सहित धनकुटा र भोजपुरका ६ हजार भन्दा बढी कार्यकर्ता कांग्रेस प्रवेश गर्ने भएका छन्।
थापा सहित ११ केन्द्रीय सदस्यसँगै ६ हजार भन्दा बढी कार्यकर्ता कांग्रेस प्रवेश गर्ने भएका हुन्। थापा सहित केन्द्रीय नेता भोली (मंगलबार) कांग्रेस प्रवेश गर्ने कार्यक्रम छ।
उनीहरु प्रवेश गरेपछि धनकुटा र भोजपुरमा समेत पार्टी प्रवेशको कार्यक्रम रहनेछ। पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाका छोरा सुनिल लामो समय सयुक्त राष्ट्र संघका काम गरेर एक दशक अघि मात्रै राजनीतिमा आएका हुन्।
उनले विगत केही वर्षदेखि राप्रपाको राजनीतिक लाइन र विचारप्रति असहमति राख्दै आएका थिए। कांग्रेस स्रोतका अनुसार थापालाई सहमहामन्त्रीसहित केही केन्द्रीय सदस्य दिने सहमति भएको छ।
त्यस्तै राप्रपाबाट कांग्रेस प्रवेश गर्ने सबै नेता तथा कार्यकर्तालाई ७७ वटै जिल्लामा समायोजना समिति बनाएरै मिलाउने सहमति भएको छ।
मंगलबार थापा कांग्रेस प्रवेश गरेलगत्तै उनको गृह जिल्ला धनकुटामा पनि पार्टी प्रवेश कार्यक्रम हुने भएको छ।
धनकुटा कांग्रेसका सचिव विजय सन्तोषी राईका अनुसार केन्द्रको पार्टी प्रवेश कार्यक्रम लगत्तै जिल्लामा कार्यक्रमको आयोजना गरिएको छ।
उनले धनकुटाबाट ५ हजारको हाराहारीमा नेता कार्यकर्ता कांग्रेस प्रवेश गर्ने अनुमान रहेको सुनाए।
यस्तै थापासँगै भोजपुरका राप्रपा कार्यकर्तासमेत कांग्रेस प्रवेश गर्ने भएको छ। भोजपुर कांग्रेसका सचिव कैलाशकुमार आलेले राप्रपाका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गर्ने तयारी गरेको बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।