खोटाङ- दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित जयसरस्वती प्राबिको टेवा पर्खाल भत्किएको छ ।
प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको १० लाख बजेटमा निर्माण गरिएको जाली सहितको र जाली बिनाका तीन वटा टेवा पर्खालमध्ये एउटा पर्खाल पूर्णरुपमा भत्किएको हो ।
करीव ३ मिटर खण्ड साउन ५ गते भत्किएको जयसरस्वती प्राबिका निमित्त प्रअ निर्मला थापाले बताईन् । उनले भनिन, ‘पर्खाल निर्माणकाक्रममा भएको कमजोरीले भत्किएको हो ।’ साउन ८ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले भत्किएको टेवा पर्खाल तत्काल मर्मत गर्ने निर्णय गरेको छ ।
पर्खाल पून निर्माण गर्नका लागि ४० हजारमा जिम्मा दिने निर्णय गरिएको व्यवस्थापन समितिका अध्यक्ष जीतप्रसाद राईले बताए । उनले भने, ‘ठेकेदारको कमजोरी र प्राविधिकको राम्रो रेखदेख नभएका कारण वर्षादको पानी जम्दा पर्खाल भत्किएको हो ।’
भत्किएको पर्खाल मर्मतका लागि स्थानीय धिराज राईले १५ हजार र १७ बोरा सिमेन्ट उपलव्ध गराउने भएपछि विद्यालयको २५ हजार रकम खर्च गरेर पर्खाल मर्मत गर्ने निर्णय गरिएको बताइएको छ ।
शिक्षक अभिभावक संघका सुवास खत्रीको उपस्थितिमा टेम्मा ज्यामिरेका जीतबहादुर राईलाई भत्किएको पर्खाल निर्माण गर्न जिम्मेवारी दिइएको बताइएको छ । पर्खाल निर्माण सम्पन्न भएको ११ दिन नबित्दै भत्किएको हो ।
प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम बन्यो गलपासो
प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत खोटाङ प्रदेश (ख) का संसदबाट उक्त विद्यालयको वाल निर्माणका लागि १० लाख रुपैयाँ विनीयोजन भयो ।
विद्यालयको भौतिक संरचना बन्ने भएपछि स्थानीयबासी, विद्यालय परिवार खुशी भए । तर, अहिले त्यो बजेटले सबैलाई चिन्ता थपिदिएको छ ।
प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमकै कारण विद्यालयका प्रअ रत्नकुमार बस्नेतले प्रअ पद गुमाउनु पर्यो । तत्कालिन प्रअ बस्नेतले विद्यालयको टेवा पर्खालको काम सम्पन्न नहुँदै अर्कै ठाउँको तस्बिर देखाएर फस्र्यौट गर्न लागेका थिए ।
उनले बदनियपूर्ण तरिकाले अर्कै ठाउँको फोटो पेश गरेपछि गाउँपालिकाले असार २८ गते उनलाई पदबाट हटाएको छ । योजनाको काम पूर्णरुपमा सम्पन्न नहुँदै असम्वन्धित योजनाको तस्बिर राखेर फस्र्यौटमा गएको खुलेपछि बस्नेत प्रअबाट हटाइएपछि व्यवस्थापन समितिले निमित्त प्रअ बनाएका थापाले असार २९ गते योजनाको फरफारक गरेकी थिएन् ।
योजना फस्र्यौटका लागि असार २२ गते गाउँपालिका पुगे पनि ओख्रेको आरुबोटे–लहरेपैयूँ–बार्लाङ–रिभु–एक्लेबर–डाँडाखर्क काहुले–मलबासे हुँदै सिमलडाँडा–जमुनेढुंगा–धिप्लुङ झरना जोड्ने सडकको तार जाली हालेको तस्बिर पेश गरेको र काम पुरा नभएको भन्दै गाउँपालिकाले ‘एक्सन’ लिएपछि असार २५ गते पर्खालमा माटो फिलिङको काम पुरा गरिएको थियो ।
हाल विद्यालयमा निर्माण गरिएको पर्खाल भत्किएपछि सबैको चासो विषय बनेको छ । ‘जयसरस्वती प्राबिको सपोर्ट वाल’ प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगतको यो योजनाले शिक्षक, विव्यास समिति र निर्माणको जिम्मा लिएको ठेकेदारलाई मात्र चिन्ताको विषय बनेन । यो स्थानीबासीकोसमेत चिन्ताको विषय बनेको छ ।
पर्खाल भत्किएपछि नजिकै रहेको विद्यालयको एकापट्टिको भाग पूर्णररुपमा पुरिँदा भवन नै ढल्न लागेको एक स्रोतले बताएको छ ।
स्रोतले भन्यो, ‘तत्कालिन प्रअ बस्नेतको लापरवाहीका कारण पर्खाल निर्माणकाक्रममा सुरु देखीनै प्रभावकारी काम नभएकै हो । कमसल सामग्रीको प्रयोग भएका कारण पर्खाल भत्किएको हो यसमा दुईमत नै छैन् ।
गाउँपालिकाले बन्द गरायो विद्यालयको खाता
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले जयसरस्वती प्राबिको खाता बन्द गराएको छ । विद्यालयको कोषबाट पर्खाल बनाउने हिजोमात्र निर्णय गरिएको भएपनि गाउँपालिकाले खाता बन्द गराएको हो ।
विद्यालयले तत्कालको लागि कुनै पनि खर्च वा भुक्तानी गर्न नपाउने गरि विद्यालयको खाता बन्द गराइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए ।
गाउँपालिकाले विद्यालयमा आजै अनुगमन गर्ने भएको छ । पर्खाल भत्किनुको कारण पत्ता लगाएर कमजोरी गर्नेमाथी कारवाहीसमेत हुन सक्ने अध्यक्ष राईले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।