आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनासँग लड्नुपर्ने बेला कम्युनिस्ट मन्त्रीलाई जिमखाना चाहियो, राष्ट्रपतिको बाथरुम सजावट

कोरोनासँग लड्नुपर्ने बेला कम्युनिस्ट मन्त्रीलाई जिमखाना चाहियो, राष्ट्रपतिको बाथरुम सजावट

  • मिडिया डबली
  • मंगलवार, जेठ २० २०७७

  • 11.3K
    SHARES

  • कोरोनासँग लड्नुपर्ने बेला कम्युनिस्ट मन्त्रीलाई जिमखाना चाहियो, राष्ट्रपतिको बाथरुम सजावट

    काठमाडौं – राजनीतिक बेथिति र आर्थिक विपन्नताले विदेशिएका नागरिक महामारीका बेला घर फर्कंदा क्वारेन्टाइनका नाममा गोठमा राखिएका छन्, संकटको बेला फजुल खर्च नगर्ने नीति लिएको कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रीनिवासमा जिमखाना बनाउन लकडाउनकै बीचमा ठेक्का दिएको छ ।

    कोभिडविरुद्ध संघर्ष गरिरहेको सरकारले अत्यावश्यकबाहेक खर्च नगर्न गत चैतमा नै निर्णय गरेको छ भने नीति तथा कार्यक्रममा पनि यही प्रतिबद्धता दोहोर्‍याएको छ । तर यही बेला सरकारले मन्त्रीनिवासमा अत्याधुनिक जिमखाना बनाउन ८२ लाखको ठेक्का दिएको छ ।

    लकडाउनकै समयमा राष्ट्रपति कार्यालयमा महंगो गलैचा फेर्न लागेको सहरी विकास तथा भवन निर्माण विभागले नै मन्त्रीहरूका लागि जिमखाना बनाउने प्रक्रिया अघि बढाएको हो ।

    पुल्चोकस्थित मन्त्रीनिवासमै जिमखाना बनाउन विभागले शनिबार न्यू केपी कन्स्ट्रक्सन नामक कम्पनीलाई ठेक्का दिएको छ । कम्पनीले ८२ लाख ८७ हजार ३२ रुपैयाँ ६ पैसामा यो काम सम्पन्न गर्नेछ ।

    स्पोर्टस् तथा जिम मेसिनसहितको हेल्थ क्लब सञ्चालन गर्ने भवन भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसअघि नै निर्माण गरिसकेको छ । जिमका लागि केही सामान पहिले नै खरिद गरिसकिएको छ । थप सामानका लागि नयाँ ठेक्का प्रदान गरिएको हो ।

    यही संकटको बेला सो कार्यालयले मन्त्रीनिवासमा रंगरोगनको काम पनि गर्न लागेको छ । त्यसका लागि देवीस्थान निर्माण सेवा एन्ड सप्लायर्सलाई २८ लाख ५५ हजार ९५३ रुपैयाँमा ठेक्का स्वीकृत गरिएको छ ।

    जब कि मन्त्रीहरूका लागि सुविधासम्पन्न निवास भैंसेपाटीमा बनाउन शहरी विकास विभागले नै प्रक्रिया अघि बढाइसकेको छ । तर पुरानै निवासमा हेल्थ क्लब निर्माणदेखि सजावटमा रकम खर्च भइरहेको छ । तर सरकारी अधिकारी भने यो खर्च आवश्यकताका आधारमा हुन लागेको बताउँछन् ।

    ‘यो अनावश्यक खर्च होइन, आवश्यक भएकाले नै बनाउन लागिएको हो,’ संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख कुमारप्रसाद घिमिरेले भने ।

    राष्ट्रपति कार्यालयमा गलैंचा फेर्ने मात्र होइन, बाथरुम पनि सजावट गर्ने तयारी, कुल बजेट १ करोड ८४ लाख

    राष्ट्रपति कार्यालयमा गलैंचा मात्र होइन, शौचालयको सजावट पनि यही बेला हुन लागेको छ । बैठक र शौचालय भव्य बनाउन सरकारले दुईथरी टेन्डरमार्फत १ करोड ८४ लाखमा ठेक्का दिने निर्णय गरिसकेको छ ।

    राष्ट्रपति कार्यालयमा हुन लागेको यो सजावट कोभिड सुरू हुनुअघिको होइन । यसका लागि ठेकेदार छनोट भएको सूचना १३ जेठ र १७ जेठमा सार्वजनिक गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभागले १३ जेठको सूचनाअनुसार १ करोड ५७ लाख र १७ जेठको सूचनाअनुसार २७ लाख रुपैयाँ खर्च गर्न थालेको हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    विभागअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले हिमालयन डेकोर तथा श्री विकोई इन्द्रेणी सुप्रिम जेभिईलाई दिने निर्णय गत ९ जेठमा गरेको हो । तीन वर्षअघि मात्र निर्माण सम्पन्न भएको भवनमा यसरी पौने २ करोड खर्च गर्न लागिएको छ ।

    ‘संकटको यो बेला अत्यावश्यक खर्च मात्र गर्ने सरकारी नीति छ,’ शहरी विकास विभागकै एक अधिकारी भन्छन्, ‘तर राष्ट्रपति कार्यालयका लागि हो भनेपछि हामी बोल्न मिलेन, भएका सामान फालेर नयाँ सामान किन्ने काम भइरहेको छ ।’

    राष्ट्रपति कार्यालयमा गलैंचा फेर्ने ठेक्का पाएको हिमालयन डेकोर गण्डकी प्रदेशका नेकपा सांसद रामबहादुर गुरुङको हो । उनी तनहुँ–१ (क) बाट निर्वाचित भएका हुन् ।

    राष्ट्रपति कार्यालयको बगैंचा सजाउन मात्र वार्षिक ४२ लाख रुपैयाँ खर्च हुने गरेको छ । यो वर्ष बजेट व्यवस्थापनका लागि राष्ट्रपति कार्यालयले प्रितम बगैंचा निर्माण प्रालि, कागेश्वरी मनहरालाई ४२ लाख ८ हजार ६४० रुपैयाँमा ठेक्का दिएको छ । गत असोजमा नै सो कम्पनीलाई यससम्बन्धी ठेक्का दिइएको स्रोत बताउँछ ।

    राष्ट्रपति कार्यालयमा पहिलेदेखि नै बगैंचा र फूलबारी भए पनि त्यसको व्यवस्थापनका लागि मात्र ४२ लाख खर्च गरिएको हो । ३ वर्षअघि ६८ करोडमा नयाँ भवन बनाइएको थियो ।

    नजिकै रहेको प्रहरीको तालिम प्रतिष्ठान तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई समेत हटाएर राष्ट्रपति कार्यालय विस्तार गर्न लागिएको छ । राष्ट्रपति कार्यालय अझ फराकिलो बनाउन सँगैको प्रहरी प्रशिक्षण प्रतिष्ठान र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालय हटाउन सरकारले ताकेता गरेको छ ।

    सीआईबीलाई साउनभित्र अन्यत्र सारेर ठाउँ खाली गर्न ताकेता गरिएको छ । तर सीआइबीको कार्यालय कहाँ राख्ने भन्ने विषयमा सरकारले कुनै पहल गरेको छैन ।

    खर्च कटौतीमा सरकारको नीति के छ ?

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा २१ (१) मा रहेको व्यवस्थाबमोजिम विनियोजित बजेटमध्ये २०७६ चैत २० गतेसम्म दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेकोबाहेक बाँकी बजेट तत्काल लागू हुने गरी रोक्का गर्ने निर्णय अर्थ मन्त्रालयले गरेको थियो ।

    अर्थ मन्त्रालयले २० चैतमा विभिन्न मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक गतिविधि र आवागमनलाई नियन्त्रण गर्न विभिन्न उपायहरू अवलम्बन गरिएको छ । यसबाट आर्थिक गतिविधि प्रभावित भएकाले राजस्व संकलनमा समेत असर परेको छ । विनियोजन ऐन, २०७६ बमोजिम बजेटलाई आवश्यकताअनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रण लगायतका प्राथमिकता प्राप्त अन्य क्षेत्रमा समेत उपयोग गर्नुपर्ने भएको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend