आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीको गृहजिल्लामा सुकुम्बासीमाथि सरकारको अत्याचार ! ३ महिनादेखि पालमुनि बास

केपी ओलीको गृहजिल्लामा सुकुम्बासीमाथि सरकारको अत्याचार ! ३ महिनादेखि पालमुनि बास

  • मिडिया डबली
  • मंगलवार, जेठ १३ २०७७

  • 12.6K
    SHARES

  • केपी ओलीको गृहजिल्लामा सुकुम्बासीमाथि सरकारको अत्याचार ! ३ महिनादेखि पालमुनि बास

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको कमल गाउँपालिका–५ लखनपुरका ७६ वर्षीय कमलपति चौलागाईंको ३ महिनादेखि बाँसको घोचामा ठड्याएको पालमुनिको बास छ ।

    दिनदिनैजसो चल्ने हुरी र पानीले बेलाबेला त्यहीँ पाल पनि उडाउँछ अनि मध्य जेठको आँखा तिर्मिराउने घाम छल्न उनको ६ जनाको परिवारले रूखको छहारी खोज्नुपर्छ ।

    चौलागाईंको यस्तो बिचल्ली कुनै प्राकृतिक विपत्तिले निम्त्याएको होइन, राज्यले उपहार दिएको हो । १४ वर्षदेखि बस्दै आएको घर सरकारी निर्देशनमा सशस्त्र प्रहरीले भत्काइदिएपछि उनको खुला आकाशमुनि बास भयो । ३ महिनाअघि हतियारसहित आएका सशस्त्र प्रहरीले आफ्नो तालिम शिक्षालयको जग्गा अतिक्रमण गरी बसेको भन्दै चौलागाईंसहित ५२ परिवारको घर भत्काएको थियो । तीमध्ये ३४ परिवार सुकुम्बासी थिए, उनीहरू सबै अहिले खुला आकाशमुनि छन् ।

    सशस्त्र प्रहरीले घर भत्काएपछि अन्त जाने ठाउँ नभएर जस्ताले वरिपरि ढाकेर अग्नि कन्दङ्वाले बनाएको त्रिभुज आकारको टहरा । पानी, हावाहुरी, शीत छलेर उनी यही घरमा बस्छन् ।

    चौलागाईंको कहीँकतै एक बित्ता जग्गा छैन, अन्यत्र जाने विकल्प पनि थिएन । त्यसैले भत्काएकै ठाउँमा बाँसको घोचा र बोराको छानो लगाएर टाउको लुकाउने छानो बनाए । ‘हाम्रो जग्गामा किन बसेको भन्दै सशस्त्रले घर भत्काइदियो, भाँडाकुँडा र लुगाहरूसमेत लगेर गयो,’ उनले भने, ‘सुकुम्बासी हौं हामी, अन्त कहीँ केही छैन । त्यसैले यहीँ ओत लाग्ने छानो बनाएँ ।’ तर त्यहीँ छानो पनि हावाहुरीले उडाएर लग्यो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    अहिले स्थानीय समाजसेवी हुकुमसिंह राईले सहयोग गरेको त्रिपाललाई बाँसमा ठड्याएर ओत लाग्ने ठाउँ बनाएका छन् । तर दिनदिनैजसो चल्ने हावाहुरी र पानीका कारण चौलागाईं निदाउन पाउँदैनन्, पानी र हुरीसँगको संघर्षमै बित्छ ७६ वर्षीय वृद्धको रात । ‘दिनैपिच्छे पानी पर्छ, अहिले त सुत्नै पाएको छैन,’ उनले पीडा सुनाए, ‘पानी परेपछि सबै ओछ्यान भिज्छ । पाल हावाले उडाउँछ कि भनेर रातभर समातेर बस्नुपर्छ । यसअघि ३ पटक उडाइसक्यो ।’

    अहिले घर भत्काउने सशस्त्र प्रहरीलाई पहिला यिनै सुकुम्बासीले आँट, भरोसा र सुरक्षा दिएका थिए । २०६० सालमा माओवादी द्वन्द्व उत्कर्षमा रहेका बेला रतुवामाई वृक्षरोपण आयोजनाको जग्गा भोगाधिकार गरी सशस्त्र प्रहरीले पाथीभरा गण स्थापना गरेको थियो । गण जंगलले घेरिएको थियो । सशस्त्र प्रहरीले नै स्थानीय वासिन्दासहित सुकुम्बासीलाई आग्रह गरेर आफ्नैवरिपरि बसायो । अहिले भने गण भएको ठाउँमा गुल्म र तालिमकेन्द्र छ ।

    ‘हामी यहाँ १६ वर्षदेखि बस्दै आएका छौं । सुरूमा माओवादीको जगजगी भएका बेला सशस्त्रले नै बोलाएर हामीलाई यहाँ बसाएको हो, त्यतिखेर हामीले नै उनीहरू (प्रहरी) लाई सुरक्षा दियौं । तर अहिले हामीमाथि नै अन्याय गरियो । अन्त कतै जग्गा छैन, अब कहाँ जाने हामी ?’ टहरोमा बसिरहेकी नरमाया चौलागाईंले भनिन् ।

    अहिले बनाएका टहरा पनि भत्काउने भन्दै सशस्त्र प्रहरीले बेलाबेलामा धम्क्याउने गरेको छ । ‘१–२ दिनअघि पनि सशस्त्र आएका थिए । लकडाउन भएर मात्रै नभत्काएको हो भन्दै थिए,’ स्थानीय खड्गदेवी लिम्बूले भनिन्, ‘यो पनि भत्काए भने हामी कहाँ जाने ? प्राण कसरी धान्ने ? हामी पनि यही देशका नागरिक हौं । हामीसँग नागरिकता छ, सरकारले हेर्नुपर्दैन ?’

    टहरामुनिका सुकुम्बासीलाई जंगली हात्ती र सर्पको त्रास पनि उस्तै छ । ‘पहिला राम्रो घर हुँदा त पटकपटक हात्तीले भत्काउँथ्यो, यी टहरामुनि के बाँकी राख्ला ? सर्प र विषालु किराहरूबाट केटाकेटीलाई कसरी जोगाउने भन्ने उस्तै पिर लाग्छ,’ टहरामै बसेका अग्नि कन्दङ्वाले भने । उनले सशस्त्र प्रहरीका आँखा छलेर लुकाएको जस्ताले बारेर त्रिभुज आकारको ओत लाग्ने टहरो बनाएका छन् ।

    सशस्त्र प्रहरीले घर भत्काउँदा बस्तीमा जोडिएका बिजुलीको तारसमेत काटेर लग्यो, अहिले अन्धकार छ । चर्पी पनि भत्काएर गएको थियो । त्यसैले उनीहरू शौच गर्न जंगल जानुपर्छ । ‘बेलुका भएपछि त सर्पले ठुंग्छ कि भनेर जंगलमा चर्पी जान पनि डर लाग्छ,’ स्थानीय हरि रोक्काले भने, ‘अब हामी मर्नु ? यहाँको स्थानीय सरकार त हामीलाई खेदाउन लागेको छ । प्रधानमन्त्री केपी ओलीज्यू ! हामी तपाईंकै निर्वाचन क्षेत्रका वासिन्दा हौं । अब हामीलाई तपाईंकै आश छ ।’

    मजदुरी गरेर घर चलाउने सुकुम्बासीले लकडाउनपछि काम पाएका छैनन् । अन्यत्रका सुकुम्बासी र मजदुरले थोरबहुत राहत पाए पनि लखनपुरका सुकुम्बासीलाई राज्यले त्यो पनि दिएको छैन । बरु राहत माग्न गएका सुकुम्बासीलाई स्थानीय जनप्रतिनिधिले ‘मिडियासँग माग्नू’ भन्ने गैरजिम्मेवार जवाफ दिएर फर्काएका छन् ।

    ‘हामीले एकपटक पेट पाल्न पनि गाह्रो भयो, खान पाइएन भनेर मिडियामा बोलेका थियौं । पछि राहत माग्न जाँदा वडाध्यक्ष डम्बर निरौलाले मिडियामै गएर माग्नु भन्नुभयो,’ स्थानीय पवित्रा बेघाले भनिन्, ‘जहाँको नागरिक भए पनि भोकै नराख्ने भनेर सरकारले भनेको समाचारमा आउँछ । तर हामीलाई राज्यले यस्तो व्यवहार गर्छ, के हामी यो देशको नागरिक होइनौँ र ?’ वडाध्यक्ष निरौलाले भने आफूले ‘राहत माग्न मिडियामा जानू’ नभनेको दाबी गरे । लखनपुर क्षेत्रका सुकुम्बासीले खेती गरेर धान फलाएका कारण राहत नदिएको उनले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend