काठमाडौं – रोजगारीका लागि भारतका विभिन्न सहर गएका नेपाली लस्करका लस्कर स्वदेश फर्किरहेका छन् । तर किट अभावका कारण उनीहरूलाई स्वास्थ्य परीक्षण नगरी घर फर्काइँदैछ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार आईतबार मात्रै गौरीफन्टा नाकाबाट ३ हजार ९५० जना भित्रिएका छन् । ३ जेठयता करीब साढे ११ हजार नेपाली फर्किएको उनले बताए ।
नाकामा स्वास्थ्य परीक्षण सम्भव नभएकाले सम्बन्धित स्थानीय तहहरूलाई क्वारेन्टाइनमा राख्न प्रदेश सरकारले समन्वय गरिरहेको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए । ‘आरडीटी किट र जनशक्ति अभावले नाकामा स्वास्थ्य परीक्षण गर्न सकिएन, सबैलाई क्वारेन्टाइनमा राखेर १४ दिनभित्र जाँच गर्न स्थानीय तहहरूलाई भनेका छौं,’ उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारसँग आरडीटी किट माग गरिएको र प्रदेश सरकार आफैंले पनि खरिद गर्न लागेको मन्त्री सुवेदीले बताए । ३० हजार आरडीटी किट र पीसीआर जाँचका लागि २ हजार भीटीएम खरिद प्रक्रिया प्रदेश सरकारले अगाडि बढाएको उनले बताए । प्रदेशभर हालसम्म २५ हजार १३८ जनाको कोरोना परीक्षण गरिएको छ । ४ हजार ४०६ जनाको पीसीआर र बाँकीको आरडीटी विधिबाट परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताए ।
बाँकेमा स्वास्थ्य परीक्षण समेत नगरी भित्र्याइँदै
नेपालगञ्ज नाका हुँदै भारतबाट फर्किएका नेपालीलाई स्वास्थ्य परीक्षण नगरी सम्बन्धित जिल्ला पठाउन थालिएको छ । यसले कोरोना संक्रमणको जोखिम बढाएको छ । यसअघि भारतबाट आउने नेपालीको तापक्रम नापेर मात्रै नेपाल भित्र्याउने गरिएको थियो ।
‘सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गरेर नाकामा रहेका नेपालीलाई सवारीसाधनमार्फत सम्बन्धित जिल्लामा पठाउने गरिएको छ,’ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने । आईतबार मात्रै नेपालगन्ज नाकाबाट ७० वटा गाडीमा नेपाली भित्रिएका छन् । सीमा क्षेत्रको भारतीय बजार रुपइडिहामा रहेका उनीहरूलाई नेपालगन्जबाट गएका बस, हाइस र किया गाडीबाट सम्बन्धित जिल्ला पठाइएको जमुनहा प्रहरीले जनाएको छ । साँझसम्म करीब २ हजार ५०० नेपाली स्वदेश भित्रिएका छन् ।
१ साताअघि स्वदेश ल्याइएका नेपालीको आरडीटी प्रविधिबाट कोरोना परीक्षण गरिएको थियो । तर अहिले शरीरको तापक्रम समेत जाँच नभएको नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मी दुर्गा महत पाण्डेले बताइन् ।
भारतले रेलसेवा सञ्चालन गरेपछि स्वदेश फर्कने नेपालीको संख्या बढेको छ । नेपालगन्ज नाकाबाट दैनिक करीब २ हजारका दरले भित्रिने गरेको इलाका प्रहरी कार्यालय जमुनहाका प्रमुख प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताए । ‘भारतले रेल, बस र लकडाउनमा खुकुलो गरेपछि नेपालगञ्ज नाकाबाट आउने नेपालीको भीड थामिनसक्नु छ,’ उनले भने । धेरैजसो कर्णाली र प्रदेश ५ को दाङ, रोल्पा, प्युठान, अर्घाखाँची, गुल्मी, पाल्पा घर भएकाहरू यो नाकाबाट आउने गरेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार बाँकेमा कोरोना पुष्टि भएका अधिकांश भारतको महाराष्ट्रबाट फर्किएका छन् । नरैनापुरमा कोरोना पुष्टि भएकामध्ये ९० प्रतिशत महाराष्ट्रबाट आएका रहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । खजुरा गाउँपालिकामा पहिलोपटक पुष्टि भएका कोरोना संक्रमित पनि महाराष्ट्रबाटै आएका हुन् ।
नरैनापुर गाउँपालिकामा निषेधाज्ञा
जिल्ला सुरक्षा समितिको बैठकले नरैनापुर गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरेको छ । नरैनापुरमा ११४ जना कोरोना संक्रमित देखिएपछि सबै वडालाई अर्को सूचना जारी नहुँदासम्मका निषेधित क्षेत्र घोषणा गरिएको हो । निषेधित क्षेत्रमा नेपाली सेनाको भैरवप्रसाद दल गणको टोलीसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।
सुरक्षा समितिको बैठकले लक्षण नदेखिएका कोरोना संक्रमितलाई सम्बन्धित स्थानीय तहमा राख्ने व्यवस्था मिलाउन सबै स्थानीय तहमा ५० बेडको आइसोलेसन अस्पताल बनाउने निर्णय गरेको छ ।
भैरहवामा एकै दिन हजार नेपाली आए, ६ सय भारतीय गए तर कसैको परीक्षण भएन
आईतबार दिनभर बेलहिया नाका व्यस्त रह्यो । नेपाली सुरक्षा निकाय भारतबाट फर्केका आफ्ना नागरिक ल्याउन र भारतीय सुरक्षाकर्मी आफ्ना नागरिक लैजान सक्रिय रहे । तर आउने–जाने कसैको पनि स्वास्थ्य परीक्षण भने गरिएन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खड्कबहादुर खत्रीका अनुसार आईतबार हजारभन्दा बढी नेपाली आएका छन् । नेपालमा रहेका ६ सयभन्दा बढी भारतीय फर्किएका छन् । ‘आउने क्रम अझै रोकिएको छैन,’ उनले भने । सिमानामा सेनिटाइज गरेर मात्र स्वदेश भित्र्याएको उनले बताए ।
ईलाका प्रहरी कार्यालय बेलहियाका अनुसार बैशाख मसान्तदेखि आईतबार साँझसम्म यो नाकाबाट करीब ४ हजार ७०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । फर्किने क्रम बढेको छ । अहिले दैनिक हजारको हाराहारीमा फर्किरहेको प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले सम्बन्धित जिल्ला प्रशासन र स्थानीय निकायसँग समन्वय गरेर उनीहरूलाई जिल्ला पठाउने गरेको छ ।
कञ्चनपुरमा भारतबाट आउने बढेपछि गड्डाचौकी नाका खोल्ने निर्णय
भारतबाट जोखिमपूर्ण यात्रा गरेर फर्किने नेपालीको चाप बढेपछि गड्डाचौकी नाका खोलिने भएको छ । आईतबार बसेको जिल्ला सुरक्षा समिति कञ्चनपुरको बैठकले सोमबारदेखि गड्डाचौकी नाका खोलेर भारतबाट फर्किएका मजदुरलाई सुरक्षित रूपमा घर पठाउने निर्णय गरेको हो ।
भारतमा लकडाउन केही खुकुलो भएपछि स्वदेश फर्किने मजदुरको संख्या दिनप्रतिदिन बढिरहेको छ । १ देखि ११ जेठसम्म लुकीछिपी २ हजार ४१ जना कञ्चनपुर पुगेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । उनीहरूलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पठाएको छ । तर यो क्रम झन् बढेपछि जोखिम हुने ठहर गर्दै गड्डाचौकी नाका खोल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी नूरहरिप्रसाद खतिवडाले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
‘लुकीछिपी आउनेहरूको स्वास्थ्य परीक्षण गर्न सम्भव भएन । त्यसैले अब गड्डाचौकी नाकाबाटै व्यवस्थित रुपमा भित्र्याएर स्वास्थ्य परीक्षण गरिनेछ,’ प्रजिअ खतिवडाले भने । सोमवार दिउँसो १२ देखि साँझ ६ बजेसम्म नेपाल प्रवेश गराइने उनले बताए ।
कञ्चनपुरमा सोमबारदेखि भने लकडाउन कडाइ गरिने भएको छ । विदेशबाट आउने बढेकाले लकडाउन कडाइ गर्नुपरेको जनाइएको छ । स्वास्थ्य संस्था र औषधि पसलबाहेक अरू बन्द गरिने र यसका लागि प्रहरी परिचालन गरिने कञ्चनपुरका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले बताए ।
कपिलवस्तुमा संक्रमितको सम्पर्कमा रहेका तीनजना भागे
कपिलवस्तुको बुद्धभूमि–४ बुड्ढीमा कोरोना संक्रमितसँग ‘क्लोज कन्ट्याक्ट’मा रहेका ३ जना स्वाब संकलन नहुँदै भागेका छन् । स्थानीय बासिन्दाले संक्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा राख्नुपर्ने दबाब दिएपछि उनीहरू भागेका हुन् ।
बुड्ढीका दिदीभाइमा कोरोना संक्रमण देखिएको छ । उनीहरूको हजुरआमाको मृत्यु भएपछि स्थानीय बासिन्दा घरमा आएका थिए । उनीहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा ४५ जना भेटिएका थिए ।
उनीहरूले सेल्फ आइसोलेसनमा बस्न माग गरिरहेका छन् भने स्थानीय बासिन्दाले क्वारेन्टाइनमा राख्न दबाब दिएका छन् । जसले गर्दा २ बालबालिकासहित ४२ जना स्थानीय भृकुटी माविको चौरमै रहेका छन् । ज्येष्ठ नागरिक, बालबालिका, दीर्घरोगीबाहेक सबैलाई क्वारेन्टाइनमा राखिने स्थानीय प्रशासनले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।