आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना रोकथाममा ओली सरकार असफल, लकडाउनबाहेक के गर्‍यो ?

कोरोना रोकथाममा ओली सरकार असफल, लकडाउनबाहेक के गर्‍यो ?

  • मिडिया डबली
  • आइतवार, जेठ ११ २०७७

  • 15.0K
    SHARES

  • कोरोना रोकथाममा ओली सरकार असफल, लकडाउनबाहेक के गर्‍यो ?

    काठमाडौं – भारतसँग नेपालको खुला सिमाना थिएन भने सायद यतिवेला नेपालका कोरोना संक्रमितको संख्या लगभग शून्य पनि हुन सक्थ्यो । किनकि हवाई मार्गबाट आएका संक्रमित एक व्यक्तिबाहेक सबै निको भइसकेका छन् ।

    सीमा बन्द तथा लकडाउनपछि भारतबाट आएका व्यक्तिहरूबाटै नेपालमा तीव्र गतिमा कोरोना फैलिइरहेको छ । शनिवारसम्म कोरोना संक्रमितको संख्या ५९१ पुगेको छ ।

    आईतबार कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन घोषणा भएको २ महिना पुगेको छ । २ महिनाको अवधि पुग्दा संक्रमितको ग्राफ बढिरहेको छ । १ जेठयता मात्र ३४१ जनामा संक्रमण देखिएको छ । त्यसअघि संक्रमितको संख्या २४३ मात्र थियो ।

    नयाँ संक्रमण बढ्नुको कराण आन्तरिक संक्रमणभन्दा भारतबाट आएकाहरु हुन् । लकडाउन प्रभावकारी भएपनि सीमा व्यवस्थापन असफल हुँदा नेपालमा पनि कोरोना महामारी हुने जोखिम देखिएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    चैतको सुरूआतदेखि छिमेकी देश भारतमा संक्रमित बढेसँगै सीमानाका र अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब परेको थियो । तर सरकार केही दिन पर्ख र हेरको रणनीतिमा बस्यो । चैत ९ गते बल्ल सीमा र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरियो । त्यसको २ दिनपछि लकडाउन कार्यान्वयन गरियो । समयमै लकडाउन गर्दा देशभित्र संक्रमण फैलन त पाएन । तर खुला सिमानाको व्यवस्थापनमा असफल हुँदा अहिले कोरोनाको संक्रमण तीव्र गतिमा फैलँदै गएको छ ।

    नेपालमा अहिले संक्रमितमध्ये ९० प्रतिशत भारतबाट सडकमार्ग हुँदै आएका छन् । कतिपय लकडाउनअघि नै आएका थिए भने धेरैजसो संक्रमित लकडाउनपछि भित्रिएका छन् ।

    सीमा बन्द भएयता भारतबाट करीब २० हजार भित्रिएको गृह मन्त्रालयको आन्तरिक रिपोर्ट छ । धेरैलाई लामो समय दशगजा क्षेत्रमा क्वारेन्टाइनमा राखेर भित्र्याइएको छ । उनीहरूको परीक्षण समेत नगरी घर जान दिइएको छ । लुकीछिपी आएका ४० भन्दा धेरैमा संक्रमण देखिएको छ । जसले ठूलो जोखिम देखाउँछ । लुकीछिपी आउने क्रममा पक्राउ परेकाहरूलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको छ ।

    यसरी लुकीछिपी छिरेको ठूलो संख्या राज्य संयन्त्रको सम्पर्कमा छैन । उनीहरूबाट संक्रमण फैलने जोखिम छ । भारतबाट आएकाहरूलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्था गरे मात्र नेपालमा कोरोना नियन्त्रण हुनसक्ने जनस्वास्थ्यविज्ञहरू बताउँछन् । तर २ महिनाको अवधिमा पनि क्वारेन्टाइन बनाउने लगायत तयारी पूरा गर्न नसक्दा भारतबाट पछिल्लो हप्ता छिरेकाहरूबाट खासगरी प्रदेश सुदूरपश्चिम र कर्णाली प्रदेशमा जोखिम देखिएको छ ।

    गृह मन्त्रालयले भारतसँगको सीमा सुरक्षालाई चुस्त बनाउन समयमा रणनीति बनाएर कार्यान्वयन गर्न नसक्दा यसरी संक्रमण बढेको हो । चैतको सुरूदेखि नै सीमा बन्द गर्नुपर्ने अवस्था देखिएको थियो । तर गृहले त्यसका लागि कुनै रणनीति बनाएन । चैत ९ गतेदेखि सीमा बन्द भयो । तर १ हजार ८८० किलोमिटर सीमामा जम्मा करीब ४ हजार सशस्त्र प्रहरी खटिएका थिए ।

    सुरक्षाकर्मीको उपस्थिति कमजोर भएको मौकामा भारतबाट ठूलो संख्यामा नेपाल भित्रिए । पछि पहाडका जिल्लामा खटिएका सशस्त्र प्रहरीलाई सीमामा खटाइयो । तर उनीहरूलाई स्रोतसाधन पर्याप्त दिइएन । जसकारण भारतबाट छिर्ने क्रम रोकिएन ।

    गृहले सशस्त्र प्रहरीले सम्हालेका कतिपय जिम्मेवारी नेपाली सेनालाई दिएर सीमामा सशस्त्र प्रहरीको संख्या बढाउनेबारे पनि छलफल गर्‍यो । तर यो प्रस्ताव मन्त्रिपरिषद्सम्म गएन । पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री तथा नेताहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई समेत फर्काएर ड्युटीमा खटाउन सकेन । गृहमा अनुभवी टीम नहुँदा त्यसको असर सीमा व्यवस्थापनमा देखिएको छ ।

    कोरोना नियन्त्रणको महत्त्वपूर्ण काम संक्रमित व्यक्तिहरूसँग भेटघाट भएका व्यक्तिहरूको पत्ता लगाई परीक्षण गर्नु हो । संक्रमितको संख्या थोरै हुँदा कन्ट्याक्ट ट्रेसिङ केही प्रभावकारी देखिए पनि पछिल्लो समय अस्तव्यस्त हुँदै गएको छ । ट्रेसिङको काम कसले गर्ने भन्नेमा अलमल देखिन्छ ।

    कतिसम्म भने यससम्बन्धी प्रस्ट कार्यविधिसमेत बनाइएको छैन । यसको मुख्य जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई छ । तर पर्याप्त स्रोतसाधन र जनशक्तिको अभावमा महाशाखाको ट्रेसिङ प्रभावकारी हुनसकेको छैन । उपत्यकाबाहिर मात्र होइन, भित्रै कतिपय ट्रेसिङको काम हुन सकेको छैन । काठमाडौंका नक्साल, मैतीदेवी तथा कपन क्षेत्रमा देखिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नभएको भन्दै सांसद गगन थापाले समेत केही दिनअघि सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरेका थिए ।

    सेना र प्रहरीले समेत ट्रेसिङको काम गर्दै आएका छन् । तर एकीकृत संयन्त्र बन्न सकेको छैन । ट्रेसिङ र परीक्षण पनि सुस्त रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend