काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको नयाँ नक्सा जारी भइसकेपछि भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपाली भूमि फिर्ता ल्याउन पहल गर्न सुझाव दिएका छन् ।
कांग्रेस प्रवक्ता शर्माले शुक्रवार फेसबुक पेजको लाइभमार्फत भारतसँग कूटनीतिक वार्ता शुरू गरेर नेपाली भूमिबाट भारतीय सैनिक फिर्ता गराउनुपर्ने माग गरेका छन् ।
भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको ६ महिनापछि नेपाल सरकारले ढिलै भएपनि आफ्नो भूमि राखेर नयाँ नक्सा जारी गरिएकोमा सरकारलाई धन्यवाद दिए ।
प्रवक्ता शर्माले ६ महिना अगाडि बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सभापति शेरबहादुर देउवाले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गर्न प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएको स्मरण गराए ।
‘भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो नक्साभित्र राखेर ६ महिना अगाडि नयाँ नक्सा जारी गर्यो,’ शर्माले भने, ‘६ महिना पछाडि सरकारले नयाँ नक्सा जारी गरेको छ । भारतले पिथौरागढबाट नेपाली भूमि लिपुलेक हुँदै तिब्बत जाने सडक उद्घाटन गर्यो । यो कांग्रेसलाई स्वीकार्य छैन ।’
उनले भने, ‘समृद्धिमा कांग्रेस प्रतिपक्ष हुँदैन । कोरानाविरुद्धको लडाइँमा कांग्रेस प्रतिपक्ष बन्दैन । राष्ट्रियताको सवालमा कांग्रेस सधैं सरकारको साथमा छ ।’
नेपालको नक्सा सार्वजनिक गर्नु स्वागत योग्य भएकाले सरकारलाई कांग्रेसको साथ रहेको उनले बताए । ‘सरकारले जारी गरेको नक्सा स्वागत गरौं । २०३२ साल अगाडि त्यो नक्सा थियो । २०३२ साल पछाडि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई हामीले नक्सामा पढ्न पाएनौं । यो नक्सा जारी भएपछि नेपाली भूमि फिर्ता ल्याउने दायित्व शुरू भएको छ,’ उनले भने, ‘नक्सा जारी भयो । आवेगमा आएर होइन अब कूटनीतिक पहल गरेर हाम्रो भूमि फिर्ता लिनुपर्छ ।’
राष्ट्रियताको कुरालाई राजनीतिक उदेश्यपूर्तिमा समावेश गर्न नहुने समेत प्रवक्त शर्माको सुझाव छ । ‘राष्ट्रवादको नाममा आशंका उब्जिएको छ । कूटनीतिक पहल होस् । नक्सा हाम्रो हातमा, जग्गा उसको हातमा हुने कुरा हुनुहुँदैन । नक्सा पनि हाम्रो हातमा र जग्गा पनि हाम्रो हातमा हुनुपर्छ । उग्र कुरा मात्रै गर्ने होइन । संयमित भएर संवाद गर्नुपर्छ,’ उनले भने ।
कांग्रेसका प्रवक्ता शर्माले भूमि फिर्ताका सम्बन्धमा भारतसँग सरकारको अभिव्यक्तिमा जति पहल गर्नुपर्छ त्यति व्यवहारमा नदेखिएको भन्दै चिन्ता जनाएका छन् । ‘नेपालले नयाँ नक्सा जारी भएपछि भारतको प्रतिक्रिया आएको छ । भारतले हाम्रो नक्सामा अस्वीकार गरेको छ,’ शर्माले भने, ‘अभिव्यक्तिमा तीब्रता होइन, व्यवहारमा तीब्रता हुनुपर्छ । नक्सा मात्रै होइन, जमिन पनि फिर्ता लिनुपर्छ । भारतसँग वार्ता गर्नुपर्छ,’ उनले भने ।
चीन र भारतबीच सन् २०१५ को सहमति अनुसार नै भारतले बाटोलाई पूर्णता दिएको कांग्रेसका प्रवक्ता शर्माले बताएका छन् । उनले यो विषयमा भारतसँगै चीनसँग पनि कुरा गर्नुपर्ने बताएका छन् । त्यसबेला सुशील कोइरालाको सरकारले चीन र भारतसँग प्रोटेस्ट नोट पठाएर विरोध जनाएको भन्दै शर्माले आफ्नो भूमिलाई अतिक्रमण हुन कहिल्यै पनि नदिने बताए ।
‘हामीभन्दा चीन र भारत दुई ठूला देश होलान् । हामी सानो हौंला । तर स्वाभीमानी छौं । हाम्रो भूमि हामीले पाउनुपर्छ,’ शर्माले भने, ‘हामी ऐतिहासिक तथ्यअनुसार कुरा गर्नुपर्छ । सन् १८१६ को सुगौली सन्धीमा पश्चिम सिमाना महाकाली नदीभन्दा पूर्वको भू–भाग नेपालको भन्ने लेखिएको छ ।’
‘काली नदीको मुहान लिम्पियाधुरा नै हो । अहिले आएर भारतले खोल्सोलाई कालीनदीको नामाकरण गरेर भारत सरकारले भन्ने हो सुगौली सन्धी उल्लंघन हुनेछ,’ उनले भने, ‘हामीले कूटनीतिक पहल कदमी गर्नुपर्छ । भारत र चीनसँग संवाद गर्नुपर्छ । भारतले तथ्यलाई तोडमोड गर्नु हुँदैन ।’
‘लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अभिन्न अंग हुन् । सर्वदलीय बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल सरकारले अपात्ति जनाउनुपर्छ भनेर भन्नुभएको छ । नेपालले आफ्नो नक्सा जारी गर्नुपर्छ भनेका थियौं,’ शर्माले भने, ‘त्यो धारणा कांग्रेसको मात्रै पनि थिएन । सबैको थियो । केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा सभापति देउवाले सुगौली सन्धीमा भएअनुसार लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो । भारतीय सेना कालापानीबाट फिर्ता हुनुपर्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।