काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा सहितको नेपालको नक्सा जारी गर्न नचाहेको गोप्य कर्तुत नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापाले खुलासा गरेका छन् ।
नेपाली कांग्रेस पार्टीको धारणाबारे पत्रकार किरण मरहट्टासँग संवाद गर्दै पूर्व मन्त्री तथा सांसद समेत रहेका नेता थापाले भारतले नयाँ नक्सा जारी गरेदेखि सुरू भएको विवादलाई स्मरण गरेका छन् ।
भारतले नेपाली भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि संसदीय समितिले नेपालको नक्सा जारी गर्न दिएको निर्देशनलाई प्रधानमन्त्री ओलीले वास्ता नगरेको खुलासा गरे । ‘संसदीय समितिहरूले नक्सा जारी गर्न निर्देशन दिएपनि सरकारले मानेन,’ नेता थापाले भने, ‘बरु प्रधानमन्त्रीज्यूले कागजमा नक्सा छापेर हुँदैन, भूमि नै फिर्ता गर्ने हो भन्नुभयो ।’
संसदीय समितिले तत्काल नक्सा जारी गर्न दोस्रोपटक दिएको निर्देशनलाई पनि सरकारले वास्ता नगरेको नेता थापाले खुलासा गरे । प्रधानमन्त्री ओलीले लिपुलेक क्षेत्रमा भारतले सडक बनाइरहेको थाहा नभएको भनेर दिएको अभिव्यक्तिबारे समेत नेता थापाले प्रतिक्रिया जनाएका छन् ।
नेपाली कांग्रेसका दार्चुलाका सांसद दिलेन्द्रप्रसाद बडुले संसद बैठकमै भारतले सडक बनाइरहेकोबारे जानकारी गराउँदासमेत प्रधानमन्त्रीलाई थाहा नहुनु अचम्म भएको नेता थापाले बताए । प्रधानमन्त्री ओलीले नक्सा जारी गर्न आनाकानी गरिरहेका बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक हुँदै मानसरोबर जाने सडक उद्घाटन गरेको ट्विट गरेपछि विवाद बढेर सरकार नक्सा जारी गर्न बाध्य भएको नेता थापाले खुलासा गरे ।
भारतले सडक उद्घाटन गरेपछि संसदीय समितिले सरकारलाई बोलाएर विगतको निर्देशन अनुसार नक्सा किन जारी नगरेको भनेर प्रश्न गर्दै तत्काल नक्सा जारी गर्न निर्देशन दिएको नेता थापाले स्मरण गरे । ‘सीमा रक्षाका विषयमा नेपाली कांग्रेस सरकारसँगै छ, एक इन्च पनि छाड्नु हुँदैन,’ नेता थापाले भने, ‘कांग्रेसको मत भनेको नक्सा पनि जारी गरिन्छ, भूमि पनि ल्याइन्छ भन्ने हो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।